धरान : धरान स्थित भारतीय राजदूतावास पेन्सन वितरण कार्यालयमा भोली शनिवार देखी वृहत् रक्तदान सार्थ महिलाको पाठेघर र स्तन क्यान्सर रोग सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन हुँदैछ ।

भारतीय भूतपूर्व सैनिकहरूका लागि पूर्वमा आधारभूत विकासका कार्यहरू, कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको पेन्सन वितरण कार्यालय परिसरमा हुने रक्तदान तथा स्वास्थ्य परीक्षण शिविरमा धरानका सर्वसाधारण सबैका लागि खुला गरिएको हो ।

धरान-१३ स्थित फुस्रे कार्यालयमा आयोजित सञ्चारकर्मी भेटघाटमा भारतीय पेन्सन कार्यालयका इन्चार्ज सहायक सैन्य अधिकृत मेजर भरत कान्जीयाले उक्त जानकारी दिएका हुन् । उनका अनुसार महिलाको पाठेघर र स्तन क्यान्सरको शिविरको सहकार्य विराट मेडिकल कलेज टिचिङ हस्पिटलको सहकार्यमा आयोजना गरिएको हो ।

अघिल्लो वर्ष २८८ पिन्ट रगत सङ्कलन गरेर सुनसरी जिल्लामा पहिलो भएको बताउँदै उनले भने, ‘यसपालि आयोजना गरिएका रक्तदान पनि उत्साहप्रद हुने विश्वास गरेका छौँ ।’ उनका अनुसार पेन्सन कार्यालयले विगत ४ वर्ष देखि लगातार रक्तदान कार्यक्रम गर्दै आएको छ ।

यस वर्ष देखि धेरै महिलाहरूमा हुने पाठेघरको समस्या र स्तन क्यान्सर रोग अत्यधिक बढेका पाइएकाले महिलाहरूलाई प्राथमिकता दिएर दुर्व रोग सम्बन्धी परीक्षण शिविर सञ्चालन गरिएको मेजर कान्जीयाले बताए ।

उनले भने, ‘शिविरमा आएका बिरामीलाई आवश्यक परे थप उपचार गराउनका लागि पनि व्यवस्था हुने विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा सहकार्यको सम्झौता भएको छ ।’ उनका अनुसार यसपालि रक्तदान कार्यक्रममा ५ सय पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

शनिवार बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन हुने रक्तदान एवम् स्वास्थ्य परीक्षण शिविरमा पूर्वाञ्चलका भारतीय भूपू लगायत सर्वसाधारण नागरिकहरूलाई समेत अवसरको लाभ लिन  मेजर कान्जीयाले आव्हान गरेका छन् ।