धरान : धरानमा साँझमा परेको भारी वर्षाका कारण धरान १७ मा'ड्रेन'ले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

धरान ११ मंगलबार स्थित ऐश्वर्य मार्गको ड्रेनको भेल बाढीले बगाएर १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको धरान-१७ वडा सदस्य मनिष विष्टले बताए । उनका अनुसार धरान ११ को भिक्टोरिया स्कुलमा कक्षा ९ मा अध्ययनरत बालक घर फर्कँदै गर्दा ड्रेनको भेल बाढीले बगाएको हो ।

बाढीले बगाएका बालकको शव धरान-१७ स्थित फोक्लेन टापुको ठकुरी खोला पुलबाट एक सय मिटर उत्तरतर्फ फेला परेको धरान-१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले बताए ।

भारी वर्षाका कारण धरान उपमहानगरपालिका छेउमा रहेको खहरे खोलामा पानीको बहाव बढी भएका कारण उपमहानगरपालिका गेट अगाडीको सडक समेत भासिएको छ भने धरान-१३ का खहरे खोलाहरूमा पानीको बहाव बढी भएर सडकमा ढुङ्गा र गिट्टी थुपारेको छ । निशाने खोला छेउमा पहिरोले गर्दा बाटो थुनिएको छ ।

Balak-Sab-dharanखहरे खोलाको बाढी चतरा लाइनमा बग्दा एक घण्टा सडक जाम

त्यसैगरी आज बिहीबार दिउँसोको भीषण वर्षाले खहरे खोलामा आएको बाढी चतरा लाइनबाट पसेर करिब १ घण्टा सवारी ठप्प भएको छ ।

करिब ५ बजे देखी धरान उपमहानगरपालिका छेउ स्थित साँघुरो पुलमा खहरेका आएको बाढी अट्न नसक्दा पुल भन्दा भाथी ओभरफ्लो भएर बगेको थियो ।

वर्षा बढ्दै जाँदा ओभरफ्लोको बाढी पश्चिम तर्फ एउटा भँगालो शिव सिनेमा हल दक्षिण सडक तिर बगेको थियो । सडकमा बगेको बाढी धरान-१२ को नयाँ वडा कार्यालय पश्चिम माणिक पथ सम्म पुगेर बाढीको रूपमा बगेको थियो ।

सडकबाट २ फिट सम्म माथि बगेको बाढीले खहरे पुल पश्चिम तर्फ रोकेर राखेका मोटरसाइकलहरू समेत लडाएको थियो । बाढीमा पनि चलिरहेका ट्याम्पो मोटरसाइकल खहरेको पुलबाट कट्न नसकेपछि साँझ ६ बजे सम्म सडकमा सवारी चल्न सकेको थिएन ।

यसबिच चतरा लाइनका पसल घरहरूमा हिलाम्मे पानी पसेको छ । मुसलधारे वर्षाका बिच सडकमा बगेको बाढीमा मानिस वारपार गर्न नसक्ने अवस्था थियो ।

चतरा लाइन स्थित गाडीको नम्बर प्लेट लेख्ने ‘द आर्ट’का सञ्चालक ध्रुव श्रेष्ठले भने ‘साता अघि पनि खहरेको बाढी सडकमा बगेको थियो, तर यति ठुलो बाढी थिएन, आज पसलमै पानी पस्ने गरी बाढी आयो ।’

खहरे खोलाको यस्तै रूप बढ्दै जाने हो भने आउँदा दिनमा खहरेले बाटो परिवर्तन गरी चतरा लाइनबाट बग्ने अवस्था आउन सक्ने उनको भनाई छ ।