धरान : नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पूर्वबाट समाजवादी क्रान्ति सुरु हुने बताएका छन् ।

अखिल क्रान्तिकारीको दोस्रो कोशी प्रदेश अधिवेशन उद्घाटन समारोहमा उनले भने ‘पूर्वले समाजवाद ल्याउने भूमिकाको यात्रा पश्चिम सम्म पुर्याउने छ ।’ अबको समाजवादी क्रान्तिको आधार पूर्वका विद्यार्थीहरूले दृढ सङ्कल्प साथ खडा गरेको उनले बताए ।अन्तरबिरोधबाट सुरु भएको क्रान्तिले समाजवादी क्रान्ति सुरु गर्ने उनको भनाई थियो ।

पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन भएपछि विरोधीहरू फाइल खुल्ने डरले एक जुट भएको उपमहासचिव गजुरेलले बताए ।

उनले भने ‘भ्रष्टाचार विरोधी काम गरेकाले नै ठुला पार्टीहरू मिलेर माओवादीलाई सरकारबाट हटाएको हो ।’ पार्टीले जनमुखी काम गर्न थालेको बेला सरकारबाट हट्नु परे पनि ‘क्लाईमेक्स’मा उच्चतम फल प्राप्त भएकोले अव माओवादी पार्टी ‘स्ट्रोङ’ हुने बताए ।

अव युवा विद्यार्थी मजदुर अगाडि बढ्नु पर्ने उनले बताए । भने ‘युवाहरू खाडीमा बुढाखाडा गाउँमा हुने स्थिति लाई चिर्न क्रान्तिकारी विद्यार्थीले नयाँ योजना बनाउनु पर्छ ।’ युवा र विद्यार्थी बाहिरिएको देश कस्तो हुन्छ यस्तो कुरा कल्पना गर्न नसकिने उनको भनाई छ ।

उपमहासचिव गजुरेलले माओवादी पार्टीमा गुटबन्दी व्याप्त रहेको बताउँदै भने ‘पुँजीवादी पार्टीमा मात्र गुटबन्दी हुन्छ माओवादी पार्टीमा आएको गुटबन्दीले पार्टीको ठोस योजना बन्न दिँदैन ।’

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्च सिंहले मुलुकको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ भनेर अखिल क्रान्तिकारीले आवाज उठाउँदै आएको बताइन् । उनले क्रान्तिकारी विद्यार्थीले व्यक्तिवादी टिके प्रथालाई त्याग गर्दै प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन सुरु गरेको बताइन ।

उनले भनिन् ‘आन्तरिक प्रतिस्पर्धालाई उच्च मूल्याङ्कन गर्दै क्षमता र योग्यताको कदर गर्दे नेता छनौट होस ।’ अधिवेशनमा अध्यक्ष पदमा आकाङ्क्षीहरूको सङ्ख्या आधा दर्जनको सङ्ख्यामा रहेको सहभागीहरूले बताए ।

आकाङ्क्षी धेरै भए पनि अन्तमा दुई जना बिच प्रतिस्पर्धा हुनसक्ने क्रान्तिकारीका नेता बुद्रोस लिम्बूले बताए । अध्यक्षका लागि उनी आफै सहित पाँचथरका चन्द्र लिम्बू, सुनसरीका खेम रणपहेली, इलामका विपिन पोखरेल, तेह्रथुमका योगेश भट्टराई, झापाका अनिल सुवेदी र उदयपुरका भरत घिमिरे रहेका छन् ।

उद्घाटन कार्यक्रम क्रान्तिकारी प्रदेश अध्यक्ष हेमन्त राईको सभापतित्वमा भएको थियो । अधिवेशनमा १४ जिल्लाका ४५५ जना प्रतिनिधिको सहभागी रहेको बताइएको छ । प्रदेश कार्यसमितिको निर्वाचन गरी अधिवेशन भोली बुधवार सम्पन्न हुनेछ ।

कार्यक्रममा माओवादी केन्द्रीय सदस्य अमनलाल मोदी, गोपी आछामी, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष दीपेश पुन, पूर्व अध्यक्ष रञ्जीत तामाङ लगायतका नेताको उपस्थिति रहेको थियो ।

student-convension