इटहरी : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा अगाडी मङ्गलवारबाट अनशन सुरु गरेका छन् । दश वर्ष मुनीका बालबालिकाको निःशुल्क उपचार हुनुपर्ने मुख्य मुद्दा लिएर उनले अनसन सुरु गरेका हुन् ।

यसअघि नेपाली काँग्रेस भित्रै विद्रोह गरेर मुख्यमन्त्री भएका उनले अनशनमा पनि पार्टीको कुनै चिन्ह वा झण्डा प्रयोग नगर्ने बताएका छन् । काँग्रेस कोशी प्रदेश संसदीय दलले कार्कीको निर्णय व्यक्तिगत भएको भन्दै पार्टीले अपनत्व लिनेबारे ठोस निर्णय गरेको छैन ।

आमरण अनसनमा दलीय तथा संस्थागत समर्थनको लागि उनले मङ्गलवार बिहान जानकी सेवा सदनमा छलफल गरेका थिए । माग पूरा नहुँदासम्म अनशन नतोड्ने बताउँदै उनले अन्य अभियन्ताहरूले समेत समर्थन गर्ने बताएका छन् ।

पूर्व मुख्यमन्त्री कार्कीले भदौ २३ गते आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विभिन्न ९ वटा माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए । दश वर्षमुनिका बालबालिकाका लागि विशिष्टिकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने उनको पहिलो माग छ । उनी मुख्यमन्त्री भएका बखत सुरु भएको कार्यक्रम वर्तमान सरकारले बजेट नीति तथा कार्यक्रमबाट हटाइएको छ ।

बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने देखि शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने उनको माग छ । महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी-मोरङ केसलिया कोरिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने जस्ता माग उनले राखेका छन् । जुन यसअघि उनले कार्यान्वयन ल्याउने प्रक्रिया सुरु गरेका थिए ।

त्यसबाहेक कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कार्कीले बताएका छन् । डाक्टर, इन्जिनियर लगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने बताउँदै उनले जनावरमैत्री जङ्गल निर्माण गर्नुपर्ने माग राखेका हुन् ।

कार्कीले मुख्यमन्त्री भएको समयमा हात्ती मैत्री जङ्गल अभियान सुरु गरेर कोशी प्रदेशभरिको चार कोशे क्षेत्र पैदल यात्रा गरेका थिए ।