झापा : कोसी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की पदबाट हटेपनि सरकारमा हुँदा आफूले ल्याएको नीति कार्यान्वयन गर्ने अभियानमा लागेका छन् ।

उनी मुख्यमन्त्री हुँदा झापामा हात्ती आतङ्क न्यूनीकरण गर्न जङ्गल जनावरमैत्री बनाउनु पर्ने कुरामा जोड दिँदै हात्ती हिँड्ने मार्ग खोज्दै जङ्गल यात्रा पनि गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री कार्कीले शनिवारदेखि हात्ती प्रभावित क्षेत्रका जङ्गलमा वृक्षारोपण अभियान शूर गरेका हुन् । उनको अगुवाइमा प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

अभियानले जङ्गल क्षेत्रमा जङ्गली जनवार निम्ति फलफूलका बोट, बिरुवा रोप्न सुरु गरिएको छ । अभियानलाई लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी, लायन्स कनकाई, वाल क्लब सञ्जाल, राजनीतिक दल, कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोखरेल सहित युवाहरूले साथ दिएका छन् ।

कार्कीले भने, ‘जसको जङ्गल, उसको मङ्गलको अवस्था निर्माणका लागि जनावरमैत्री जङ्गल बनाउन सबैलाई सहभागी बन्न अपिल गर्दछु ।’ जनावरमैत्री जङ्गल भएपछि जङ्गल क्षेत्रका बासिन्दा शान्तिपूर्ण जीवन गुजार्ने बनाउन वृक्षारोपण सफल बनाउन सबैलाई उनले आग्रह गरे ।

उनले गत फाल्गुनमा ७ दिन बाहुनडाँगी देखी उदयपुरको बेलसोत बजारसम्म २४३ किलोमिटर लामो हात्ती प्रभावित क्षेत्रमा पदयात्रा गरेका थिए । विज्ञको टोलीसहित पैदल यात्रामा रहेका कार्कीले जङ्गलमा जनावरका लागि आहार र जनावरमैत्री जङ्गल नभएकाले जङ्गली जनावरले सर्वसाधारणलाई दुःख दिने गरेको निष्कर्ष निकालेका थिए ।

कोसी प्रदेश सरकार परिवर्तन भएपछि वर्तमान सरकारले त्यसतर्फ कुनै ध्यान नदिएको आरोप लगाउँदै कार्कीले सरकारलाई खबरदारी गर्न आफैँले वृक्षारोपण अभियान सुरु गरेको बताए ।

Kedar karki Brikshyaropan 2nd

Kedar karki Brikshyaropan 3rd