इटहरी : नबिल बैङ्क तरहरा शाखाले प्रतिनिधिसभा सदस्य (सांसद) अशोक कुमार चौधरीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम दिएको छ । गत भदौ ६ गते कारोबार दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै बैङ्कले पैसा नतिरे कालोसूचीमा राख्ने जानकारी गराएको हो ।

मौखिक तथा लिखित जानकारी गराउँदा समेत बेवास्ता गर्दै साँवा ब्याज नबुझाएको सूचनामा बताइएको छ । सूचना प्रकाशित भएको मितिले ३५ दिन (असोज १०) भित्र साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य दैदस्तुर भुक्तानी गर्न बैङ्कले आग्रह गरेको छ ।

समयमा भुक्तानी नगरे धितो जफत गरिने र धितोबाट कर्जा असुलउपर नभएमा जमानतकर्ता वा निजको चल अचल सम्पत्ति बाट वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार असुल गर्ने र जनमानकर्तालाई समेत कालोसूचीमा राख्ने चेतावनी दिइएको छ ।

इटहरी–५ मा रहेको आयुष एण्ड अजेश ट्रेडर्सका मालिक चौधरीले ऋण लिएका हुन् । उनले जमानतमा आफ्नै श्रीमतीलाई राखेका छन् । इटहरी ५ को कित्ता नम्बर १९६५ को १५ धुर जग्गा राखेर उनले ऋण लिएको बताइएको छ ।

कति ऋण लिएको भन्ने बारे बैङ्कले खुलाउन नमिल्ने बताएको छ । ब्रान्च म्यानेजर अनीश ओझाका अनुसार भदौ २५ गतेसम्म कुनै पनि रकम भुक्तानी भएको देखिँदैन । समय सीमा भित्र ऋण चुक्ता नभए सूचनामा उल्लेखित ब्यहोरा र कानुन अनुसार हुने ओझाले बताए ।

Nabil-Bank-Notice