धरान : बिर्तामोडको बीएण्डसी अस्पतालका मालिक दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गर्दा आन्दोलनको नाममा निर्दोष निजी सम्पत्तिमा आगजनी, तोडफोड गर्नेलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न यातायात व्यवसायीहरूले माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, कोसी प्रदेश समितिले सोमवार एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो ।
प्रसाईँलाई विद्युतीय कारोबार ऐन अन्तर्गत प्रहरीले पक्राउ गरेपछि आइतबार राती झापामा उनका समर्थकहरूले २ वटा भारतीय ट्रकमा आगजनी गरेका छन् ।
राति सवा ११ बजेको समयमा कन्काई-८ बिरिङ खोलाको पुलमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको डब्लु बि ७३ ई ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरिएको हो । प्रत्यक्षदर्शीहरू अनुसार ६ वटा मोटरसाइकलमा आएका १०/१२ जनाले ट्रकमा आगजनी गरी फरार भए ।
त्यस्तै सोमवार बिहान पौने ३ बजेको समयमा बिर्तामोड-६ गिरीबन्धु टी ईस्टेट राजमार्गमा अर्को भारतीय ट्रकमा आगजनी गरेका छन् । सुनसरीको दुहबीबाट काँकडभिट्टा जाँदै गरेको खाली ट्रकलाई ५/६ जनाको समूहले आगजनी गरेका हुन ।
ट्रकमा भएको आगजनीबाट सोही ट्रकका चालक भारत सुलिगुडी बस्ने वर्ष ४० का कुमार महतो दाहिना हातको पाखुरामा जलेर घाइते भएका छन् । उनको प्रसाईँकै बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।
उक्त घट्नाको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, कोसी प्रदेश समितिले भर्त्सना गर्दै आगजनी गर्नेहरूलाई पक्राउ गरी कारबाहीको माग गरेको छ ।
महासङ्घका कोसी प्रदेश समिति संयोजक सरोज श्रेष्ठद्वारा जारी संक्षिप्त विज्ञप्तिमा सरकार सँगको रिस, द्वेषको कारणले आन्दोलनका नाममा निर्दोष निजी सम्पत्ति आगजनी, तोडफोड गर्नेलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गरीयोस भनी माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘यस प्रकारको उच्छृङ्खल, अराजक प्रकृतिको आन्दोलनलाई निरुत्साहित एवं आन्दोलनको स्वरूप परिवर्तन गराउन पनि जो कोही भए पनि कानुनी कारबाही गर्न नेपाल सरकारलाई जोडदार माग गर्दछौँ ।’
1`111111