झापा : झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरूले दुई वटा भारतीय ट्रकमा आगजनी गरेका छन् । गए राति सवा ११ बजे कन्काई –८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको डब्लु बि ७३ ई ३०५६ नं. को भारतीय मालवाहक ट्रकमा प्रसाईका समर्थकहरूले आगजनी गरेका हुन् ।

 प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा ६ वटा मोटरसाइकलमा आएका १०/१२ जनाले ट्रकमा आगजनी गरी फरार भएका थिए ।

बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले मध्यरातमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो । ट्रकमा भएको आगजनीबाट सोही ट्रकका चालक भारत सिलिगुडी बस्ने वर्ष ४० का कुमार महतो दाहिना हातको पाखुरामा जलेर घाइते भएका छन् । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै प्रसाईका समर्थकहरूले बिहान पौने ३ बजे बिर्तामोड ६ गिरीबन्धु टी ईस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा  अर्को भारतीय ट्रकमा आगजनी गरेका छन् ।

सुनसरीको दुहबीबाट काँकडभिट्टातर्फ जाँदै गरेको खाली ट्रकलाई ५/६ जनाको समूहले आगजनी गरेका हुन् ।

ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको छ भने पछाडिको भागमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

साथै, आगलागीबाट ट्रकका चालक भारत इस्लामपुर बस्ने वर्ष ४० का पोदा रायको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएकोमा उनलाई बीएण्डसी अस्पतालमा लगेर उपचार गरिएको थियो । चालक राय भारतमै उपचार गर्ने भन्दै भारततर्फ गएको बिर्तामोड प्रहरीका डिएसपी प्रकाश विष्टले जानकारी दिएका छन् ।

111