इटहरी : दसैँ र तिहार लगत्तै छठ पर्वको रौनक तातिएको छ । विगतमा मधेसमा मात्र हुने छठ पर्व पछिल्लो समय विभिन्न समुदाय र पहाडी क्षेत्रमा पनि त्यत्तिकै हर्सौल्लासका साथ मनाउन थालिएको हो ।
पूर्वका विराटनगर, इटहरी, दमक, इनरुवा, बिर्तामोड लगायत सहरका नदी तथा तलाउमा श्रद्धालु भक्तजनको भिड नै लाग्ने गरेको छ ।
इटहरीको प्रमुख बुढीगंगा घाटमा दुई लाख श्रद्धालु भक्तजनको आगमन हुने छैठपर्व सेवा समितिले जनाएको छ । अघिल्लो वर्ष डेढ लाख भन्दा बढी मानिसको आगमन भएको जनाएको समितिले दुई लाखको हाराहारीमा श्रद्धालुको उपस्थिति हुने अनुमान गरेको हो ।
समितिले निर्माण गरेका ५ सय ५० घाट बुक भइसकेकाले थप ५० वटा निर्माणको चरणमा रहेको बताइएको छ । समितिका अध्यक्ष मनोज चौधरीका अनुसार व्रतालु र श्रद्धालुको आगमनलाई व्यवस्थापन गर्न सम्पूर्ण तयारी थालिएको हो । मङ्गलवार बिहान इटहरीको राधाकृष्ण शिव मन्दिर अगाडीबाट घाटसम्म कलश यात्रा गरेर छठ पर्वको स्वागत गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।
कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै छठ पर्वको सुरुवात हुने मानिन्छ । मुख्यतः कात्तिक शुक्ल षष्ठीको दिन अस्ताउँदो सूर्यलाई र सप्तमीको दिन उदाउँदो अर्घ दिएर छठ पर्व मनाउने गरिन्छ ।