धरान : धरान-८ का लालबहादुर विक/रेणुका विश्वकर्मा दम्पतीले भोजपुरको टेम्केमैयुङ-८ गोगने स्थित विद्येश्वर माध्यमिक विद्यालयमा दलित विद्यार्थीका लागि १ लाख १ हजार १०१ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
लालबहादुर विश्वकर्माले सोही विद्यालयमा कक्षा ८ सम्म पढेका थिए । आफू पढेको विद्यालयका दलित विद्यार्थीलाई प्रोत्साहित गर्न अक्षयकोष स्थापना गरिएको उनले बताए ।
 मङ्सिर ८ गते विद्यालयको ८४औँ वार्षिकोत्सवमा पुगेका विश्वकर्माले दम्पतीको तर्फबाट ‘मङ्गल/शुभद्रा/लालबहादुर विश्वकर्मा दलित छात्रवृत्ति अक्षयकोष’ का लागि उक्त रकम प्रदान गरेका हुन । मङ्गलसिंह र शुभद्रा लालबहादुरका बुवा आमा हुन ।
वार्षिकोत्सव समारोहमा लालबहादुर/रेणुका विकले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घमानसिंह राईलाई अक्षयकोषको रकम हस्तान्तरण गरे ।
यसअघि २०७२ सालमा २० हजार रुपैयाँको ‘मङ्गलसिंह स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएकोमा उक्त कोषमा रकम थप गरी १ लाख १ हजार १०० रुपैयाँ पुर्‍याइएको हो ।
अक्षयकोषको व्याज रकमबाट प्रत्येक वर्ष कक्षा ८ र ९ बाट उत्तीर्ण उत्कृष्ट दलित विद्यार्थी १ छात्र १ छात्रा सहित ४ जना विद्यार्थीलाई छात्रवृत्ति शैक्षिक सामाग्री प्रदान गरिनेछ ।