इटहरी : इटहरी १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आज बिहीबार आयोजित कार्यक्रममा ७५ जना छात्रछात्रालाई कुल १ लाख ३७ हजार ४२ रुपैयाँ छात्रवृत्ति रकम वितरण गरेको छ ।

छात्रवृत्ति पाउने विद्यार्थी बाल विकास देखी कक्षा १२ सम्मका छन् । विद्यालयमा हाल सम्म ७५ जना दाताले २० लाख ८८ हजार ७७१ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोषमा अघिल्लो वर्ष १८ लाख थियो । कोषको व्याजबाट छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

यो वर्ष २९ जना दाताले अक्षयकोष स्थापना गरेका छन् । यसपालि अक्षयकोषको सङ्ख्या ७५ पुगेको छ । 

विद्यालयको ६९औँ वार्षिकोत्सवमा छात्रवृत्ति वितरणका साथै योगदान पुर्याएकाहरुलई सम्मानित गरिएको छ । सम्मानितहरूमा तत्कालीन हाँसपोसा गाविस-१ हाल इटहरी-१ का वडाध्यक्ष लालबहादुर लुइँटेल, २०७४ मा निर्वाचित वडाध्यक्ष विष्णुलाल चौधरीलाई मरणोपरान्त सम्मान गरिएको छ ।

अक्षयकोषका संस्थापक पूर्व प्रधानाध्यापक शम्भुप्रसाद सापकोटा, बद्री अधिकारी तथा पद्माकुमारी अधिकारी, नुतनप्रसाद ढकाल र दीपेन्द्र ढकाललाई इटहरीका मेयर हेमकर्ण पौडेलले सम्मान पत्र प्रदान गरे । अक्षयकोष स्थापना गर्ने पूर्व विद्यार्थी इन्जिनियर एकराज भट्टराई, किरण ढुङ्गेल र चित्रबहादुर कार्की सहित २२ जना सम्मानित भएका छन् ।

बालबालिकालाई विद्यालय ल्याउन सहजीकरण गर्ने अभिभावक राजु तामाङ, सुष्मा तामाङ, दानबहादुर विश्वकर्मा, भूमादेवी विश्वकर्मा, मनमाया विक र सफा सुग्घरमा उत्कृष्ट कक्षा १ का असिम खत्री, विद्यालयका ७ शिक्षक-कर्मचारीलाई नगद सहित सम्मान गरियो ।सम्मानित शिक्षकहरूमा कुमारी भारती, सावित्रा श्रेष्ठ, सन्दीप बास्तोला, राजकुमार ढकाल, इन्दिरा थापा, डम्बरकुमारी थापा र कर्मचारी मधुरलाल चौधरी छन् ।

प्रधानाध्यापक बस्नेतद्वारा वार्षिकोत्सवमा प्रस्तुत प्रगति विवरण अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कुल आय ४ करोड ७२ लाख १८ हजार ८९८ रुपैयाँ र खर्च ४ करोड ६६ लाख ४६ हजार ८६० रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा कुल ५ करोड ६२ लाख ९५ हजार ६८६ रुपैयाँ आय भएकोमा ५ करोड ५७ लाख ७ हजार ५६८ रुपैयाँ खर्च भएको थियो ।

व्यवस्थापन समिति अध्यक्ष कोविदजंग कार्कीले विद्यालयको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे । वार्षिकोत्सवमा आयोजित खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरियो । प्रतियोगितामा खेलकुदका ५१ वटा इभेन्ट भएका थिए ।

बाल विकासदेखि कक्षा १२ सम्म साधारण र प्राविधिकमा सिभिल इन्जिनियर पढाई हुने विद्यालयमा कुल १ हजार ९२० जना विद्यार्थी छन् । कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन र जीव विज्ञान, भौतिकशास्त्र तथा यस वर्ष देखि होटेल म्यानेजमेन्टको पढाई हुँदै आएको छ ।