इटहरी : नेपाली काँग्रेसले प्रतिष्ठाको विषय बनाएको ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणना अनुसार माओवादी केन्द्रका नमोनारायण माझी निर्वाचित भएका हुन् ।

काँग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६ मतले हराउँदै माझी निर्वाचित भएका छन् । माझीले ६ हजार ९६९ मत पाउँदा काँग्रेसका थारुले ५ हजार ३ सय ३३ मत पाएका छन् । नेकपा एमालेका तुलसी राम विश्वासले ४ हजार १५९ मत ल्याएर तेस्रो भएका छन् ।

२६ हजार ४४ मतदाता रहेका मध्ये १८ हजार ५७७ मत खसेको ग्रामथानमा काँग्रेसका जयप्रकाश गच्छदारको निधन पछि उपनिर्वाचन भएको हो । २०७९ सालको निर्वाचनमा गच्छदारले ७ हजार ६०५ मत ल्याएर विजयी भएका थिए । त्यस बेला एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मत मात्रै ल्याएका थिए ।

काँग्रेसले प्रभाव क्षेत्र मानेको ग्रामथानमा माओवादीले बाजी मारेको हो । स्थानीय तथा केन्द्रीय नेतृत्वको प्रत्यक्ष निगरानीमा रहेको ग्रामथानमा अन्ततः काँग्रेसले प्रतिष्ठा जोगाउने सकेन ।