• प्रा.डा. बद्रीविशाल पोखरेल 

नवनियुक्त मन्त्रीको नाम थर गोत्र जे पनि हुनसक्छ । कशैसँग मिल्न गए त्यसलाई संयोग मानौँ । मूल कुरा मन्त्रीको मनोविज्ञान, मनोग्रन्थी र मनस्थितिको हो । नवनियुक्त मन्त्रीले मन्त्री हुनैका लागि अहिलेसम्म कति अपहत्ते गर्‍यो भन्ने कुरा आफैँ मनमनै सम्झियो ।

ल कलेज काठमाडौँमा पढ्दा मण्डले अनि काङ्ग्रेस हुँदै कसरी कम्युनिस्ट पार्टीमा प्रवेश गरेको थियो सबै विगत सम्झियो । बेस्मार धोकेर राती लडेर ढाड भाँच्चिएको र कति पटक नालीमा मुख जोतेको सबै सबै सम्झना गर्‍यो । त्यसरी राति राति बाटा घाटामा लडेर कार्यकर्ताले घर पुर्‍याइदिएको पनि झलझली सम्झियो ।

पार्टीको नीति सिद्धान्त र सङ्गठनका नाममा मनपरी गरेका विगतका कुराहरू पनि स्मरण गर्‍यो। कार्यकर्ताले तिरेको लेबी र सदस्यता शुल्क हिनामिना गरेको मनमा उठ्यो । नगरपालिका निर्वाचनमा नगर प्रमुखमा उम्मेदवारी दिएका आफ्नै पार्टीका नगर नेतालाई हराउन भित्रभित्रै अनेक तिकडम गरेको र पार्टी नगर अध्यक्षमा फलाना निर्वाचित भए आफ्नो राजनीति समाप्त हुने भनेर छाती ठोकेको पनि सम्झना आयो ।

तर आफूले भने अनुसार नगर समिति नबनेकामा अहिले पनि चित्त दुखेको सम्झेर छाती सुम्सुम्यायो । जिल्ला अधिवेशनमा अमुक नेतालाई हराएर आफ्ना हनुमानलाई उपसचिव बनाउन अन्तिमसम्म मरिहत्ते गरे पनि नसकेकामा अहिले सम्म  मन कुँडिएको चाल पायो ।

तैपनि तत्कालीन पार्टी अध्यक्ष स्व.निलम खनाललाई त्यही सदस्यलाई नगर इन्चार्ज बनाउन बारबार हत्ते हालेको सम्झ्यो । यसरी आफैले भने बमोजिम खनालले नमानेको मात्र होइन उल्टो हप्काएको सम्झेर चित्त दुखायो ।

तर जिल्ला अधिवेशन आफू अनुकूल बनाउने षडयन्त्र सफल भएकामा आफैँलाई धन्य सम्झ्यो । रोगग्रस्त निलम खनाल बिचमा उपचारका लागि फलोअप गर्न भारत जानै पर्ने थियो तर उही बेला जिल्ला अधिवेशन जुधाएर खनाल फलोअपमा जान पाएनन् ।

जिल्ला सम्मेलन गर्ने र तपाई नै अध्यक्ष हुनुपर्छ भनेर  खनाललाई फुरुङ्ग पार्न सकेकामा मुसुक्क हाँस्यो । नभन्दै अधिवेशन पछि खनाल फलोअपमा जाँदा जाँदै बाटैमा सिकिस्त भए र बिदा भए । कसैले पनि हालसम्म थाहा नपाएका यत्ति कुरा आफूले पहिले नै थाहा भएकामा आफूलाई दूरदर्शी नै ठान्यो । त्यसैले उपाध्यक्षमा आफ्नै यस म्यान निर्वाचित गराएको हुँदा अहिले जिल्ला पार्टीमा आफ्नो मनमोजी चलेकामा मुसुक्क मुस्कायो ।

पार्टीमा जाँडपानी साथीसित अचम्मको एकता हुँदो रहेछ भन्ने उसले पहिले नै थाहा पाएको हो । पार्टीको विचार सिद्धान्तले जोड्न नसेकाहरु जाँडपानीबाट कसरी एकाकार हुँदा रहेछन् र आफ्ना इसारामा चल्दा रहेछन् भन्ने उसले उहिल्यै चाल पायो । यही विज्ञताका आधारमा पार्टीमा पकड जमायो ।  त्यसैले उसका वडाभरि जाँड पार्टी बारबार भइरहन्छन्।

तर उसलाई पार्टीका एकाध बुद्धिजीवीले आफ्नो चाकरी नगरेकामा धेरै झ्वाँक चलिरहन्थ्यो । एक जना यस्तै खरा खालका प्रा.डा.ले मेरा विकृत चरित्र र चिन्तनप्रति आलोचना गरेको सुनेर उसलाई खपिनसक्नु रिस उठिरहेको थियो । यही विषयमा उनीसित जिल्ला अधिवेशन स्थलमा उसको बाझाबाझ भयो।उनी न टेर्ने म झन् जिल्लाको अध्यक्ष आफू किन लुत्रुक्क हुने ? न भन्दै एकानि दोक्मानी सुरु भयो । म बेलुकैदेखि झ्याप परेको हुँदा बिहान पनि रनाहामा नै थिएँ । ती बुद्धिजीवीले मलाई हातै हाल्छन् कि भन्ने मनमा  डर थियो । त्यसैले पहिले त मैले दाहिने हात मुठ्ठी पारेर उनलाई हान्न खोजेको थिएँ ।

एक कार्यकर्ताले मलाई कम्मरमा च्याप्प समाएर अन्तै लगे । उनले मुखै मात्र चलाए, हातै चाहिँ हालेनन् । तर ठेलाठेलका क्रममा मैले देब्रैहात उज्याएर उनलाई धकेल्न खोजेँ । यसले गर्दा मैले बायाँ हातमा लगाएको स्टिल चेन भएको  घडीले गर्दा उनको देब्रे हातको बुढी औँलामा गहिरो चोट लागेछ र रगत नै बगेछ ।

यसपछि मलाई किन कुटेको भन्दै डा.फायर भएर अनि मलाई आम कार्यकर्ताका सामु मार गाली गरे र हप्काए । तर त्यस बेला मेरा पक्षमा ओड गर्ने कोही  देखिएनन् । यसबाट मैले मलाई कार्यकर्ता र नेताले कसरी हेर्दा रहेछन् भन्ने राम्ररी बुझेँ । उत्ति नै बेलै मैले गुरु बराललाई फोन गरेर घटनाबारे बताएँ र कार्यवाही गर्नु पर्छ भनेँ तर बरालले उल्टो मैलाई हप्काएर भने ती डाक्टरको पार्टी स्वार्थ बाहेक अरू कुनै स्वार्थ छैन भने ।

बरालले उनी त नचाहिँदा कुरामा बाघ समान छन् र झम्टिन्छन् ।  अनि सुतेको बाघको जुँगा उखेल्न किन गाको भनेर उल्टो मैलाई हप्काए । म विचलित भएँ । मेरा कर्तुत  सुनसरीका तत्कालीन इन्चार्ज शेरधन राईलाई थाहा छ । कोशी प्रदेशका इन्चार्ज र अध्यक्ष तथा स्थायी समिति सदस्य सबलाई मेरा कर्तुत थाहा छ ।

त्यसैले माथि बालकोटका इन्द्रलाल भण्डारीका सिफारिस र सोर्सका आधारमा माथिबाटै मैले आफ्नूलाई मन्त्री बनाउन सफल भएँ । जाबो मुख्य मन्त्री माथिको आदेश आएपछि लुत्रुक्क परि गए । सब त चाकरीकै बलमा न चुरीफुरी गरिरहेका हुन् । त्यसैले  मेरा गुह्य कुरा थाहा पाउनेहरू कसैले मलाई मन पराउँदैनन् ।

मन्त्री हुने निश्चित भएपछि र पदभार ग्रहण गर्दा मातहतका कार्यकर्ता पूरै परिचलित गराए । त्यसैले सबका सबले फेसबुक, मेसेन्जरमा मलाईको आइरो लगाए । यसरी नै मन्त्रालयमा आएर फूलमालाले स्वागत गर्न पनि तिनलाई अह्राएँ र अह्राए अनुसार गरे ।

कतिले डरले पनि गरे । तर एक कमरेडसित मैले धेरै अघिदेखि इलुइलु गरेको प्रदेशभरि छारपस्ट भएको थाहा पाएर नवनियुक्त मन्त्रीले आफ्नो अनुहार अलि मलिन गरे । आ ! देखाजाएगा भन्दै बेवास्ता गर्न पनि खोजे तर सबैलाई ढाँट्न सकिन्छ आफू र आफ्नो मनलाई कदापि डाँट्न सकिन्न रहेछ भनेर  नवनियुक्त मन्त्रीले टाउको निहुराए ।

जिन्दगीमा  एक पटक मन्त्री भइछाड्ने मेरो सपना इन्द्रलाल भण्डारी मार्फत पूरा भयो । जे भए पनि नातागोता इष्टमित्र भएपछि जे काम पनि फत्ते हुँदो रहेछ । पार्टी सार्टी गोली मारा । थापा पसलमा एक वर्षदेखि चिया नास्ता खाइयो तर पैसा तिरेको थिएन । मेरो ज्यानी दुष्मन डा. ले थाहा पाएछ । उसले नै एक भट्टराई थरी उति बेला मेरा जिग्री दोस्तमार्फत करिब चार हजार रुपियाँ डा.लाई तिरायो ।

धन्न अन्त अन्त खाएको चाहिँ डा.ले आजका दिनसम्म थाहा पाएनछ नत्र उसले छेराउने थियो जस्तो लाग्छ । अहिले त्यो डा. देख्यो कि भित्रभित्र डर लाग्छ तर डर देखाएन पनि भएन । आफू मितव्ययी अर्थात् मितको मात्र खानेमा परियो । खैनी त मागेर खानेले अरू के चाहिँ किनेर खानु ?

डा.जस्ता पार्टीप्रति प्रतिबद्ध र इमान्दारहरु अरू पनि भए भने हामी जस्ता नेताको त बेहाल नै हुन्छ । हामी जस्ता नेता र कार्यकर्ताका कारण पार्टी  चरम  असन्तुष्टिको भुसको आगो भित्रभित्रै  भन्किरहेको पनि थाहा पाएको छु । कति खेर आगो भड्किन्छ थाहा छैन ।

डा. जस्ता मानिसले पार्टी छाडे हामीलाई ढलीमली गर्न सजिलै हुन्थ्यो तर त्यो डा. भनाउँदो मानिस ज्याद्रो नै छ । पार्टीभित्र बसे पनि बाहिर रहे पनि विकृतिको खेदोपाइलो गर्छ । उ सित कलम छ, म सित त भाँच्चिएको ठुटे कलम मात्र छ त्यसले के गर्नु र ? बाहिर बाहिर मन्त्री भएकामा आफैँ मक्ख परेजस्तो भए पनि मन चाहिँ चिउचिउ गर्छ ।

आफ्नै मनोबल कमजोर भएपछि कसैको केही लाग्दो रहेनछ । पार्टीमा कुद्न चाहिँ धेरै कुदेँ, खाइनखाइ पनि कुदेँ, के गरेँ भन्दा काम न काज डुलेको रहेँछु । पार्टी बनाउने भन्दा आफूलाई मात्र बनाउन कुदेँछु । यो डा.ले मिसन ग्रास रुटमा गाउँ गाउँमा खटिएर जाँदा मेरा बारेका सबै पोल थाहा पाएछ ।  आफूलाई मिसन न सिसन । आफू बने भैगयो ।

अहिले पनि मिसन चौरासी भन्छन् तर आफूलाई चौरासी होस् कि चौलानी केही मतलब छैन । आफू आफ्ना प्यारा र प्यारीलाई जुन ठाउँ अनुकूल पर्छ त्यहीँ षडयन्त्र गरेर भए पनि स्थापित गर्ने हो । आखिर माथि  भण्डारी, गौतमका ज्वाइँ र पौडेलहरू छँदैछन् । चाकरी नगरी कुनै र केही नै पाइन्न  भने आफूलाई गणेश प्रवृत्ति नै सबै भन्दा प्यारो लाग्छ ।

(लेखक इटहरी निवासी बुद्धिजीवी, साहित्यकार हुन )