धरान : सांसद हर्क साम्पाङ ट्राफिक नियम उल्लङ्घन गरेकोमा दण्डित भएका छन् । उनलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ट्राफिक नियम पालना नगरी मोटरसाइकल चलाएको विषय बाहिरिएपछि ट्राफिक प्रहरीले उनीमाथि कारबाही गरेको जनाएको छ।
ट्राफिक प्रहरीले लापरबाहीपूर्ण ढङ्गले सवारी साधन चलाएको आधारमा जरिवाना गरिएको जानकारी दिएको छ।
भिडियोकै आधारमा साम्पाङलाई ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ को दफा १६४ को १द अन्तर्गत लापरबाहीपूर्वक सवारी चलाएको कसुरमा उनलाई पहिलो पटक जरिवाना गरी दण्डित गरेको जनाएको छ ।
साम्पाङ जेठ २२ गते उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेका थिए। दुर्घटनाबाट उनको हातमा चोट लागेको थियो।
दुर्घटनापछि उनले हातमा चोट लागेको भिडियो तथा घटनासम्बन्धी सामग्री आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उक्त भिडियोमा सवारी चलाउने क्रममा ट्राफिक नियम उल्लङ्घन गरेको देखिएको भन्दै आलोचना भएको थियो।







































































