धरान : मुक्कुमलुङ आन्दोलनको क्रममा आइतबार देखी जारी लिम्बूवान बन्दको क्रममा प्रहरीले धरानमा ६ जना आन्दोलनकारीलाई पक्राउ गरेको छ ।
भानुचोकबाट आइतबार जसपाका नेता सुमन चेम्जोङ सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
प्रहरीले पक्राउ गरेकाहरूमा धरान-१२ का सरिन घले, धरान-१० का विशन राई, धरान-१५ का योगेश तामाङ, धरान-१५ का संदिप लिम्बू, धरान-१५ का दिवश राई रहेका छन् ।
उनीहरूलाई आज सोमबार सम्म नछोडिँदा आन्दोलनकारी आक्रोशित बनेको आन्दोलनमा सहभागी जनता समाजवादी पार्टीका नेता ताजुब लिम्बूले बताए ।
उनले सराकारले वार्तामा बोलाए पनि पक्राउ परेकाहरूलाई तत्काल विना शर्त रिहा गर्नु पर्ने माग रहेको बताए ।
आन्दोलनरत पक्ष वार्तामा बस्न अघि केबलकारको लाइसेन्स खारेजी, सशस्त्र प्रहरी र जनपथ प्रहरी फिर्ता, पक्राउ परेकाहरू निशर्त नछोडे, घाइतेहरूलाई निःशुल्क उपचारको माग पुरा हुनुपर्ने अडानमा छ ।
नेता ताजुब लिम्बूका अनुसार धरानमा तोडफोड वा कुनै अपराध नगरेको अवस्थामा प्रहरीले कसैलाई पक्राउ गर्नुको कुनै कारण नै छैन । नियन्त्रणमा लिएका आन्दोलनकारीहरू लाई रिहा नगरिएको आन्दोलनकारी आक्रोशित भएको उनले बताए ।
उनले भने ‘प्रहरीले शान्तिपूर्ण आन्दोलनको बेला विना कारण धरपकड गर्यो, र आजसम्म पनि नछोडेपछि हामीले अझ आन्दोलनलाई सशक्त बनाएका हौ ।’
सुरक्षा प्रमुखहरूसँग छलफल गरिरहँदा केन्द्रको हस्तक्षेपको कारण छोड्न अफ्ठेरो भएको बुझिएको उनले बताए । बन्दकर्ता नछाडे सम्म धरानका नाकाहरू अझ कडा र सशक्त बनाउन लागिपर्ने उनले बताए ।
पहिचानवादी मोर्चाका युवा नेता सुनसरीका संयोजक जेन्टल लावतीले आइतबार दिउँसो प्रहरीले पक्राउ परेका आन्दोलनकारीहरूलाई साँझ छोड्ने समझदारी भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रत्यक्ष हस्तक्षेपको कारण नछुटेको बताए ।
उनले भने, ‘हामीले सबैतिर सम्पर्क गर्यौँ, बुझ्यौँ । प्रधानमन्त्री ओलीकै आदेश नछोड्ने भन्ने रहेछ । राज्य हाम्रो आन्दोलनलाई दमन गर्नेतिर लागेको छ, हामी झन् सशक्त आन्दोलन गर्छौँ ।’