धरान : मुक्कुमलुङ आन्दोलनमा पहिचानवादी राजनीतिक मोर्चाहरू प्रत्यक्ष रूपमा संलग्न भएका छन् । उनीहरूले आन्दोलनको माग माघ १९ सम्म पनि पुरा नभए बन्द, हडतालका नयाँ कार्यक्रम अघि ल्याएका छन् ।
अहिले जातिय सामाजिक तथा सांस्कृतिक संस्थाहरूको मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समितिले ताप्लेजुङ प्रवेश गर्ने यातायातका नाकाहरू बन्द गरी अनिश्चितकालिन यातायात बन्द गरिरहेका छन् । त्यसलाई राजनीतिक मोर्चाहरूले विस्तार गर्ने घोषणा गरेको छ ।
पहिचानवादी ९ वटा राजनीतिक मोर्चाको विज्ञप्तिमा माघ १९ गते सम्म पनि मागमा सम्बोधन नभए माघ २० र २१ गते लिम्बूवानको ९ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात बन्द गरिने जनाएको छ ।
विज्ञप्तिमा माघ २१ सम्ममा पनि आन्दोलनको मागमा सम्बोधन नभए माघ २२ गते देखी अनिश्चितकालिन लिम्बूवान आमहडताल घोषणा गरिने उल्लेख छ ।
विज्ञप्ति जारी गर्ने राजनीतिक मोर्चाहरूमा राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी, कुमार लिङ्देन ‘मिराक’ अध्यक्ष रहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, प्रा.डा.महेन्द्र लावती संयोजक रहेको पहिचानवादी मोर्चा छन् ।
यस्तै जसपा नेपालको लिम्बूवान राष्ट्रिय समिति, जसपा सम्बद्ध किरात राष्ट्रिय समिति, नागरिक उन्मुक्ति पार्टी प्रदेश नं १ समिति, नेपाल जनमुक्त पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, गजेन्द्र पालुङवाको किरात लिम्बूवान प्रदेश समिति रहेका छन् ।