धरान : मुक्कुमलुङ पाथीभरामा केबलकार निर्माण सम्बन्धी विवादमा प्रहरीले गोली प्रहार गरेकोमा विरोध जनाउँदै जनता समाजवादी पार्टी धरानले आज बुधवार भानु चौकमा विरोध सभा गरेको छ ।
सभामा सहभागीहरूले मुक्कुमलुङ क्षेत्र संरक्षण गर, निहत्था जनता माथि गोली हान्ने काम बन्द गर,गोली चलाउन आदेश दिने सिडिओलाई कारबाही गर, गृहमन्त्री तत्काल राजीनामा दे नारा लेखिएका प्लेकार्ड छातीमा टाँसेका थिए । उनीहरूले नाराबाजी पनि गरे ।
सभामा जसपा प्रदेश सचिव राम माण्डुपा राईले मुकुमलुङको समस्या शान्तिपूर्वक समाधान गर्नेमा नलागी गोली प्रहार गरी राज्यले आन्दोलनमा आगो लगाएको बताए । उनले भने ‘बन्दुकको गोलीबाट लागेको आगो त्यतिकै निभ्दैन ।’
उनले पहिचान विरोधीहरू पहिचान मास्न सल्बलाई रहेका बताउँदै यो अवस्थामा पहिचानवादीहरू एक जुट भै केबलकार निर्माण रोक्न सशक्त आन्दोलनमा उत्रिनु आवश्यक रहेको बताए ।
जसपा कोचिला राज्य समितिका तेजनारायण चौधरीले आन्दोलनमा होमिएको पहिचानवादी पार्टी जसपा केबलकार निर्माण कार्य तत्काल खारेज नगरी ब्याक नहुने बताए । उनले भने ‘पहिचान पक्षधर जनता एक नभएकाले राज्य पक्षको आतङ्क र प्रहरी दमन भएकाृे हो ।’
धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बुले कम्पनीका मालिक चन्द्र ढकालको ग्लोबल आइएमई बैङ्कमा खाता हुनेहरू खाता बन्द गर्न आव्हान गरे । सभामा नगर सचिव कौशिला चेम्जोङ, जसपा मजदुर अध्यक्ष चन्द्र सोताङले अनिश्चितकालिन यातायात बन्दमा सबै जुट्न आव्हान गरे ।
गत: शनिवार ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रहरी र केबलकारको विरोधमा रहेको आन्दोलनकारी बिच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर ३ जना गम्भीर घाइते भएका छन् । विरोधमा आन्दोलनकारीले ताप्लेजुङ जाने नाकाहरूमा अनिश्चितकालिन यातायात बन्द गरेका छन् ।