धरान : अस्थायी प्रहरी चौकी अमरहाटको प्रहरी टोलीले धनकुटा-४ का २३ वर्षीय रोशन श्रेष्ठ र २४ वर्षीय निरज घिमिरेलाई मङ्गलवार ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
उनीहरू चढेको बा ०२-०३५-प -५३४ नम्बरको स्कुटरको चेकजाँच गर्दा १६ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर फेला परेपछि दुवैलाई स्कुटर सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी झापाको मेचीनगर-६ बाट मोरङ शनिश्चरे-६ का ३० वर्षीय ईश्वर भुजेल र उनको श्रीमती ३८ बर्सिया शान्ति आङ्देम्बे भुजेललाई ब्राउनसुगर सहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले दम्पतीको साथबाट २ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
यसैगरी विराटनगर-१५ बाट इटहरी-९ का २५ वर्षीय निशान चौधरीलाई ३ ग्राम २० मिलिग्राम ब्राउनसुगर लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ ।
साथै उदयपुरको त्रियुगा-४ का ३० वर्षीय सरोज कुमार सार्कीलाई लागुऔषधको एम्पुल १७ वटा, सिरिन्ज १ थान सहित पक्राउ गरेको छ ।