वराहक्षेत्र : सुनसरीका १२ वटा पालिका मध्ये कार्यसम्पादन मूल्याङ्कनको आधारमा वराहक्षेत्र नगरपालिका सर्वोत्कृष्ट बनेको छ भने इटहरी सबैभन्दा कमजोर पालिका बनेको छ ।

कार्यसम्पादनमा सुनसरीको कान्छो नगरपालिका वराहक्षेत्र जिल्लाकै सर्वोत्कृष्ट बनेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार वराहक्षेत्र नगरपालिकाले ६७ प्रतिशत अङ्क प्राप्त गर्दै जिल्लाकै उत्कृष्ट बनेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आन्तरिक आम्दानीको प्राप्ति, विभाज्य कोषमा दाखिला भएको रकम, विनियोजन अनुसारको खर्च बजेट, बेरुजु, आवधिक योजना निर्माणको अवस्था, शैक्षिक र स्वास्थ्य गतिविधि लगायत मूल्याङ्कन गरेर नतिजा निकालेको वराहक्षेत्र नगरपालिकाका सूचना अधिकारी गौरी रायले जानकारी दिए ।

सुनसरीका १२ वटा पालिका मध्ये कार्यसम्पादन मूल्याङ्कनको आधारमा वराहक्षेत्र नगरपालिका पछि इनरुवा नगरपालिकाले ६१.४ प्रतिशत, हरिनगर गाउँपालिकाले ५८ प्रतिशत, धरान उपमहानगरपालिका ५६.३ प्रतिशत त्यस्तै रामधुनि नगरपालिकाले ४९.१ प्रतिशत, भोक्राहा नर्सिङ गाउँपालिकाले ४५.९ प्रतिशत, दुहबी नगरपालिकाले ४५.५ प्रतिशत, बर्जू गाउँपालिकाले ४४ प्रतिशत, गढी गाउँपालिकाले ४२.२ प्रतिशत, कोशी गाउँपालिकाले ४१.३ प्रतिशत, देवानगञ्ज गाउँपालिकाले ४०.९ प्रतिशत र इटहरी उपमहानगरपालिकाले ३९.७ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

कार्यसम्पादन मूल्याङ्कनको प्राप्ताङ्क अनुसार इटहरी उपमहानगरपालिका सुनसरीभरीमै सबैभन्दा कमजोर पालिका बनेको छ । वराहक्षेत्र र इटहरी दुवै पालिका नेपाली काँग्रेसले नगर प्रमुख जितेका पालिका हुन ।