इटहरी : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा इटहरी उपमहानगरपालिका काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिका भन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको छ ।

सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा इटहरीले औषत ८१.२५% अङ्क हासिल गर्दा काठमाडौँ महानगरपालिकाले ७८.५०% अङ्क प्राप्त गरेको छ भने छिमेकी नगर धरान उपमहानगरपालिकाले ७१.५०% अङ्क प्राप्त गरेको छ ।

गत वर्ष पनि उत्कृष्ट र प्रभावकारी कार्य सम्पादन गर्दै इटहरी उपमहानगरले उत्कृष्ट अङ्क हासिल गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष इटहरी उपमहानगरले लिजा मूल्याङ्कनमा इटहरीले प्रगति गरेको छ । मूल्याङ्कनका विभिन्न १० वटा विषय क्षेत्रमा इटहरी उपमहानगरले आफ्नो कार्यसम्पादनमा सुधार गर्दै अङ्क बढाएको उपमहानगरका प्रवक्ता एवम् वडा नं.६ का अध्यक्ष दिवस पोखरेलले जानकारी दिए ।