धरान : वीपी प्रतिष्ठानको मूलगेट पश्चिम तर्फ सडक छेउ प्रतिष्ठानको ग्रिन बेल्ट क्षेत्रमा धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङको 'मेयर भिजन कोष'बाट बन्न लागेको तरकारी बजार विवादमा परेको छ ।
उक्त ग्रीन बेल्टको जग्गा वीपी प्रतिष्ठानको भएको र भविष्यमा विभिन्न प्रयोजनमा प्रयोग हुनसक्ने भएकोले प्रतिष्ठानका रजिष्ट्रार प्राडा. सूर्य प्रसाद सङ्ग्रौलाले बिहीबार नगर प्रमुख साम्पाङलाई तरकारी बजारको सेड नबनाउन आग्रह गरेका थिए ।

प्रमुख साम्पाङ र रजिष्ट्रार प्राडा सङ्ग्रौलाबिच भनाभन समेत भएको थियो । शिलान्यास कार्यक्रममा नै भएको विवादमा रजिष्ट्रारलाई प्रमुख साम्पाङले जनप्रतिनिधिसँग बोल्ने हैसियत नभएको बताउँदै त्यस बारे स्वास्थ्य मन्त्रीसँग कुरा गर्ने बताएका थिए ।
प्रतिष्ठानको विरोधको बाबजुद नगर प्रमुख साम्पाङले आदर्श मार्गमा शुक्रवार देखी तरकारी बजारको सेड निर्माण सुरु गरेपछि विवाद सतहमा आएको छ ।
तरकारी बजारको सेड निर्माण ठेक्का पाएका ठेकेदार प्रकाश राईले निर्माण स्थलको २ वटा ग्रोब्रेसल्लाको रुख काटेर निर्माण कार्य आज शुक्रवार सुरु गर्न लागेका थिए ।
रुख काट्न सुरु गरेको थाहा पाएपछि प्रतिष्ठानको आग्रहमा रुख काट्दै गरेको ठाउँमा इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोली पुगेर रुख काट्न रोकेका छन् ।
निर्माण स्थल पुगेका इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर दिवस कुँवरले भने ‘रुख काट्ने कार्य बन्द गर्न आग्रह गरे पछि हाल रुख कटान कार्य रोकिएको छ ।’
निर्माण स्थल धरान उपमहानगरपालिकाको सडक मापदण्ड विपरीत पनि छ । उपमहानगरपालिका आफैले स्वीकृत गरेको त्यहाँको सडक मापदण्ड ६५ फिट हो । सेड निर्माण उपमहानगरपालिका आफैले बनाएको सडक मापदण्ड विपरीत भएको स्थानीयले बताए ।
तरकारी बजारको १२ वटा अर्धपक्की सेड निर्माणको ठेक्का ठेकेदार प्रकाश राईको न्यून थापा निर्माण सेवा धरान-१८ ले ६५ लाख ७० हजार ८१ रुपैयाँ ५ पैसामा पाएको छ ।
वडा १७ का स्थानीयको विरोध
स्थानीयवासी र १७ नम्बर वडासँग समन्वय नगरी तरकारी सेड निर्माण कार्य सुरु गरेको भन्दै विरोध गरेका छन् ।
उपमहानगरपालिका प्रवक्ता, वडा १७ का अध्यक्ष सूर्य बहादुर भट्टराईले प्रमुख साम्पाङले १७ वडाको एरियामा वडासँग समन्वय नगरी तरकारी सेड बनाउन सुरु गरेको बताए ।
उनले भने ‘क्षेत्राधिकार हुन्छ, वडाको क्षेत्रमा वडालाई थाहा नै नदिई जे पायो त्यही गर्नु उचित हुन्न' । भट्टराईका अनुसार कार्यपालिकाबाट वडा नं. १८ वडाले तरकारी सेड बनाउने भन्ने कुरा पास भएको हो । तर कुन ठाउँमा कहाँ बनाउने कति बजेटमा बनाउने पास नभएको उनको भनाई छ ।
बिपी प्रतिष्ठान १८ नम्बर वडा भए पनि प्रतिष्ठान बाहिरको क्षेत्र १७ वडाको हो । १७ को क्षेत्राधिकार भित्र १८ ले केही गर्न नमिल्ने उनको भनाई छ । निर्माण स्थल १७ वडामा भएको दाबी गर्दै भट्टराईले भने ‘आइतबार १७ नम्बर वडा वासी लिएर नगर प्रमुख कार्यकक्ष घेराउ गर्न जान्छु ।’
वडा १८ अध्यक्ष मौन
उता १८ नम्बर वडाध्यक्ष नरेन्द्र बहादुर राई (प्रवीण)ले तत्काल तरकारी सेड निर्माणका बारे केही नबोल्ने बताउँदै भने ‘आइतबार विस्तृत कुरा बोल्छु ।’ उनले सेड निर्माण स्थल वडा नम्बर १८ मा पर्ने दाबी गरे ।
तरकारी बजार होइन, वीपीको गेट खोल : स्थानीयवासी
आदर्श मार्ग निवासी स्थानीय सञ्जय राईले विकासको नाममा विनाश गर्न नहुने बताए । ८ देखी ९ वर्ष लगाएर स्थानीयले रोपेको बिरुवा स्थानीयलाई एक वचन नसोधी काटेकोमा उनले आपत्ति जनाए ।
राईले भने ‘यहाँ तरकारी बजारको आवश्यकता छैन, सेड बनाउने ठाउँमा बिपीको गेट खोल्नु पर्छ, स्थानीयलाई सहज हुन्छ र बजारको चहल पहल यता पनि बढ्छ ।’
उनले सेड निर्माण स्थल वडा १७ मा भए पनि स्थानीय आदर्श मार्गका उपभोक्तासँग कसैले समन्वय नगरेको बताए । उनले भने ‘एक्कासि नगर प्रमुख आएर शिलान्यास गरेका हुन स्थानीयलाई केही थाहा छैन ।’
आदर्श मार्ग उपभोक्ता समिति सदस्य मिलन राईले स्थानीयसँग समन्वय नगरी तरकारी सेडको निर्माण गर्न थालिएको बताए । उनले वडा १७ लाई केही थाहा नभएको बताउँदै भने ‘आवश्यकता एउटा कुराको काम भने अर्को भयो ।’
वीपी प्रतिष्ठानको आपत्ति
नगरप्रमुख राईले भवन शिलान्यास गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राडा सूर्यप्रसाद सङ्ग्रौलाले बिहीबार साँझ प्रेस विज्ञप्ति निकाल्दै आपत्ति जनाएका छन् ।
बिपी प्रतिष्ठानले प्रतिष्ठानको क्षेत्राधिकार भित्र रहेको स्थानमा भवन निर्माण रोक्नु पर्ने आग्रह गर्दै प्राडा सङ्ग्रौलाले विज्ञप्ति मार्फत छलफल र समन्वय पछि मात्र बिपी प्रतिष्ठानको ग्रिन बेल्ट क्षेत्रमा टहरा निर्माण गर्न नगर प्रमुख साम्पाङलाई आग्रह गरेका छन् । विज्ञप्तिमा कुनै पनि विषयको अन्तिम निकास छलफल, संवाद र सहमतिबाटै निकाल्नु पर्दछ भन्ने मान्यता प्रतिष्ठानको रहेको भन्दै प्रतिष्ठानको ग्रिन बेल्ट क्षेत्रमा पालिका बजारको लागि भनेर शिलान्यास गरिएको स्थानमा भवन निर्माण गर्नको लागि सहमति र संवादबाट मात्रै अघि बढ्न आग्रह गरिएको छ ।
धरानलाई तत्कालीन पूर्वाञ्चल क्षेत्रीय अस्पतालले चर्चेको जग्गा नेपाल सरकारको प.सं ०५०/५१, च.नं ३०५३ मार्फत मिति २०५०/०३/१६ को निर्णय बमोजिम कित्ता नं.१ देखि ११ सम्मको क्षेत्रफल २२ बिघा १ कट्ठा ३ धुर जमिनको पूर्व तर्फ वडा नं.१९ को खोल्सी धारा लाइन, पश्चिम तर्फ वडा नं.१७ को देविथान टोल, खहरे खोल्सा र जङ्गल, उत्तर तर्फ वडा नं १ को शिव मार्ग, कुम्फुटोल, वडा नं.१७ को बिच घोपा लाइन र दक्षिण तर्फ सार्वजनिक जङ्गल सिमाना तोकी उक्त जग्गा रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले मूल गेटबाट पूर्व तथा पश्चिम दक्षिण तर्फ बाउन्ड्रि वाल निर्माण गर्दा पेरिफेरल रोड, ड्रेन तथा ग्रिन वेल्टको क्षेत्रलाई छोडेर मात्र अस्पतालको बाउन्ड्रि वाल तयार गरिएको प्रष्ट पारेको छ ।
यसको कारण प्रतिष्ठानमा भविष्यमा हुने निर्माण, अस्पताल क्षेत्रको वरिपरि राख्नु पर्ने हरित वातावरणीय अवस्था तथा भइपरी आउन सक्ने विपत्ति, प्रकोप तथा आपत् विपतको अवस्थामा रहनु पर्ने आवश्यक खुल्ला क्षेत्रको मापदण्डलाई मध्यनजर गरी उक्त क्षेत्रमा प्रतिष्ठानले हालसम्म कुनै पनि संरचना निर्माण नगरेको सङ्ग्रौलाले बिहीबार अपिल जारी गरी जनाएका छन् ।