धरान : धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले सुरु गरेको कोकाह प्रोजेक्ट भाग-२ को श्रमदानमा पाईप तान्दा भीरबाट लडेर गम्भीर घाइते भएका धरान-११ का ६५ वर्षीय कुलराज राई अहिले पनि वीपी प्रतिष्ठानको आइसियुमा छन् ।
उनको विपी प्रतिष्ठान आइसीयुको भिआइपी सघन कक्ष आइसीयुमा उपचार भइरहेको अस्पतालले जनाएको छ । आइसीयुमा उनको रेखदेख विभागका को-अडिनेटर डा. सविन भण्डारीले गरिरहेका छन् ।

डा. भण्डारीका अनुसार राईको छाती र फोक्सोमा समस्या रहेको छ । उनलाई आइसीयुमा भेन्टिलेटरमा राखेर उपचार भई रहेको उनले बताए ।
डा. भण्डारीले भने ‘अप्रेसन गरेपछि फोक्सोमा समस्या भई डेढ महिना देखि आइसियुमा राखिएको हो ।’ उनको अवस्था निकै चिन्ताजनक रहेको उनले बताए ।
आइसीयु कक्ष अघि भेट भएकी घाइते राईकी छोरीसँग बिरामीको अवस्थाबारे बुझ्न खोज्दा उनले भनिन् ‘तपाई को हो र ? चासो लिई राख्नु भएको छ ? तपाईँको चासोको विषय हो र ?’
श्रमदानमा घाइते राई कोकाहमा पाइप तान्दै गर्दा माघ १९ गते शनिवार करिब १० मिटर माथि भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।
वराहक्षेत्र वडा-१ स्थित बान्द्रेचौरी भन्ने स्थानमा श्रमदान चलिरहेको बेला श्रमदाता राई भीरबाट खसेका थिए । भिरबाट खसेका ६५ वर्षीय राईको पेटमा, टाउको र शरीरमा गम्भीर चोट लागेको थियो । उनको माघ २० गते अप्रेशन भएको अस्पतालले जनाएको छ ।