धरान : बराह सहकारीका बचतकर्ताको १० अर्ब ७३ करोड भन्दा बढी रुपैयाँ हिनामिना सम्बद्ध मुद्दामा सुनसरी जिल्ला अदालतमा बुधवार भएको थुनछेकको बहसपछि ८ जनालाई थुनामा राख्ने र ३ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

न्यायाधीश मुकेश उपाध्यायको इजलासले पक्राउ परेका मध्ये पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएकाहरूमा बराह ग्रुपका अध्यक्ष शिव लामिछानेकी पुर्वश्रीमति रिना राई, सञ्चालक समिति सदस्य फुलमाया राई, ऋण उपसमिति सदस्य शेरबहादुर महत, अस्मिता भण्डारी, पुर्वसञ्चालक र लेखा सुपरिवेक्षण संयोजक सुदिन बिक, ऋण उपसमिति पुर्वसदस्य याम्बा भनिने इन्द्रकुमार ल्वागुन, लेखापाल अर्पणा श्रेष्ठ छन् ।

पक्राउ परेका ३ जना मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गङ्गा कालिकोटेकी श्रीमती सरिता कालिकोटे र सञ्चालक सदस्य विष्णुमाया तुलाधारलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको छ ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका एसपी सुमन तिम्सिनाका अनुसार जिल्ला प्रहरीले २१० जना ऋणी सहित २६२ जनालाई सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो । मुद्दा दायर भएकामध्ये ३५ जनालाई सङ्गठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम कसुरमा सजायको माग दाबी गरिएको छ ।

२१० जना ऋणीसहित २२२ जनालाई सहकारी ऐन २०७४ बमोजिमको कसुरमा सजाय माग गरिएको छ । ५ वटा कम्पनीलाई पनि सम्पत्ति जफत गर्ने उद्देश्यले प्रतिवादी बनाइएको छ ।

बराह सहकारीका सञ्चालक र उच्च तहका कर्मचारीहरूलाई सहकारी ऐन २०७४ र सङ्गठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही तथा सजायको माग दाबी गरिएको छ । सहकारीको नाममा रकम हिनामिना तथा अपचलन गरेको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरेको थियो ।

प्रहरी निरीक्षक अधिकारीको अनुसन्धान प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको छ ।

सञ्चालकका श्रीमतीहरू सहित केही सञ्चालक समिति सदस्य, कर्मचारीहरू पक्राउ परे पनि मुख्य सञ्चालक एवं अभियुक्तहरू शिवकुमार लामिछाने, मानबहादुर विश्वकर्मा, गङ्गा कालिकोटे लगायत भने फरार छन् ।

baraha-pidit-2