इटहरी : बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० अर्ब ७३ करोड भन्दा बढी रकम अपचलन भएको कसुरमा २६२ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले ऋण लिएर नतिर्ने ऋणीहरूलाई समेत प्रतिवादी बनाएर बिहीबार नै अभियोग पत्र दायर गरेको हो ।
बराह सहकारीका सञ्चालक ३५ जनालाई सङ्गठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम कसुरमा मुद्दा दायर भएको छ । बाकी २२२ जनालाई सहकारी ऐन २०७४ बमोजिमको कसुरमा सजाय माग गरिएको अभियोग पत्रमा उल्लेख छ । मुद्दा दर्ता भएका २६२ जना मध्ये २१० जना ऋणीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको बताइएको छ । ४१६८ जना पीडितहरूले प्रहरीमा २८१ वटा जाहेरी दर्ता गराएको र सोही आधारमा अनुसन्धान भएको प्रहरीले जनाएको छ ।
सहकारी ऐन २०७४ र सङ्गठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही तथा सजायको माग दाबी भए अनुसार बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने) र सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मासहित कर्मचारीहरू समेत परेका छन् ।
जसमा मन्दिरा लामिछाने, हरिकुमार धमला (विश्वकर्मा), प्रकाश लामगादे, शुभराज खाती, विकास लामगादे, सुरेश विक, शोभराज भन्ने अम्बरबहादुर विश्वकर्मा, रवि पोर्तेल, पूर्णबहादुर कालिकोटे भन्ने पूर्णकुमार विश्वकर्मा, रिना राई (लामिछाने), भोजमान लामगादे, गङ्गाबहादुर कालिकोटे, शरण विश्वकर्मा, विकास भन्ने विकास गजमेर, लालबहादुर विश्वकर्मा, कृष्णा भन्ने अम्बर प्रसाद खाती, सुदिन बिक, कुमार दुतरात भन्ने कुमार विक, अनुपकुमार खड्गी, विष्णुकुमारी तुलाधर, अस्मिता भण्डारी, दातेन्जी शेर्पालगायत छन् ।
अभियुक्त खोज्न प्रहरीको विशेष टोली
मुद्दा दर्ता पछि आइतबार देखि जिल्ला अदालत सुनसरीमा अभियुक्तको बयान सुरु भएको छ । अभियोग पत्रमा उल्लेख भएका मध्ये हालसम्म १३ जना मात्र पक्राउ परेका छन् भने बाँकीलाई प्रहरीले खोजिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार प्रतिवादीहरूलाई नेपाल लगायत अन्य मुलुकको सहयोगमा खोजबिन गर्ने काम भइरहेको छ । कसुरको गम्भीरतालाई हेरेर अभियोग लगाइएको बताउँदै उनले खोजबिनको लागि विशेष टोली परिचालन गरिएको जानकारी दिए ।
एकातिर सञ्चालक भएर अपचलन गर्ने र अर्कातिर कर्जा लिएर नतिर्ने दुई खालका प्रतिवादी भएकाले दुवैलाई आआफ्नो हिसाबमा अनुसन्धान हुने एसपी तिम्सिनाको भनाइ छ । उनले भने, ‘समयमै कर्जा नतिरेको कारण पनि बराह सहकारीमा यो समस्या आएको हो । हामीले यस अघि नै सूचना प्रकाशित गरेर ऋण तिर्न आग्रह गरेपनि वहाँहरूले सुन्नु भएन ।
खराब कर्जा लिएर फरार रहेका व्यक्तिको पहिचान र खोजी कार्य तीव्र पारिएको छ । कसैलाई पनि छुट र अन्याय नहुने गरी प्रहरीले अनुसन्धान गर्छ र गरिरहेको छ ।’

































































