इटहरी :  जनता बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेपछि निर्वाचन तालीका प्रभावित बनेको हो ।

निर्वाचन समितिले मतदाता नामावली परिवर्तन गर्ने भएपछि खोलेको ताला बुधवार पुनः लगाएको हो । स्ववियु सभापतिमा अगाडी सारेका हेमराज खड्का (आदित्य) को मतदाता नामावलीमा नाम नपरेपछि विवाद बढ्दै गएको छ ।

नेपाली काँग्रेस, राप्रपा र नेकपा माओवादी लगायत दलहरू सँग एमालेका नेताहरूले गरेको वार्तामा निर्देशिका विपरीत नामावली प्रकाशित गर्न नसकिने भएपछि अनेरास्ववियु आक्रोशित बनेको हो ।

यसअघि फाल्गुन २३ गते प्रकाशित गर्नुपर्ने मतदाता नामावली २५ गते (आइतबार) प्रकाशित भएको हो । २७ गते दिउँसो हुनुपर्ने मनोनयन दर्ताको प्रक्रिया राति ७ देखि ९ बजे सम्मलाई खुल्ला गरियो । निर्वाचन समितिले निर्वाचनको कार्य तालिकाको नियम मिचेको आरोप लगाउँदै अनेरास्ववियुले तालाबन्दी गरेको छ ।

खड्काको नाम नसमेटिएको भन्दै नामावली च्यातेको अनेरास्ववियु निर्देशिकामा उल्लेख भएको माघ ११ गते पछिका विद्यार्थीले पनि मतदाता बन्न पाउनुपर्ने अडानमा छ । सोही अनुसार २०६ विद्यार्थी मध्ये १० जनालाई मतदाता नामावलीमा समेट्ने सहमति जनाएपछि ताला खोले पनि सहमति अनुसार नभएपछि पुनः विरोध जनाएको हो ।

बुधवार क्याम्पस कमिटी अध्यक्ष सन्तोष तिम्सिनाले विज्ञप्ति जारी गर्दै विद्यार्थीको मताधिकार खोसिएको भन्दै विरोध जनाएका छन् ।निर्वाचनको निष्पक्षतामा प्रश्न उठाउँदै सौहार्दपूर्ण रूपमा निर्वाचन गर्ने ग्यारेन्टी नभएसम्म तालाबन्दी जारी राख्ने तिम्सिनाले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति (२०८१) द्वारा क्याम्पस/कलेज निर्वाचन समितिलाई थप निर्देशन जारी भएको छ । निर्देशनको बुँदा नम्बर ५ मा माघ ११ भित्र भर्ना भएका विद्यार्थी मात्र मतदाता बन्न पाउने व्यवस्था छ । सोही अनुसार निर्वाचन समितिले नामावली प्रकाशित गरेको हो ।

नेबिसंघ, राप्रवि सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन लगायतले जुनसुकै हालतमा निर्वाचन गर्नुपर्ने बताएका छन् । अनेरास्ववियुले हार्ने डरले निर्वाचन भाँड्न खोजेको अन्य सङ्गठनको आरोप छ ।

निर्वाचन प्रभावित पर्ने र विद्यार्थीको अधिकार वञ्चित गर्ने कुरा मान्य नहुने बताउँदै नेविसंघ सुनसरी अध्यक्ष प्रमोद भट्टराईले सम्मानजनक रूपमा ताला खोल्न आग्रह गरे ।

उता अनेरास्ववियुका कोशी प्रदेश अध्यक्ष गङ्गाबहादुर खड्का (जिबी गजल) त्रिभुवन विश्वविद्यालयको निर्देशिका च्यात्ने धम्की दिएका छन् । विद्यार्थीको मताधिकार वञ्चित गर्ने त्रिविको निर्देशिकाले पालना नहुने उनले चेतावनी दिएका छन् ।

Janata campus itahari  (1)Janata campus itahari  (2)