धरान : प्रहरीले भारत पश्चिम बङ्गालका ३२ वर्षीय सम्सद खान, २७ वर्षीय साहेब अलीलाई लागुऔषध ब्राउनसुगर सहित मङ्गलवार पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई झापाको मेचीनगर-६ बाट औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

उनीहरूबाट ब्राउनसुगर ८७ ग्राम ३४० मिलिग्राम बरामद भएको छ ।

यता विराटनगर-१५ बाट मङ्गलवारै भारत विहार राज्यको अररिया नरपथगन्जका २२ वर्षीय मोहम्मद नहिमलाई १ ग्राम ७ मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

नहिमलाई चेकजाँचको क्रममा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरी उदयपुर चौदण्डीगढी-६ का २७ वर्षीय पेशल बस्नेत, २३ वर्षीय गगन खतिवडा लाई १ ग्राम ४८ मिलिग्राम ब्राउनसुगर र लागुऔषध नेट्रभेट-१०, १५ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

मोरङ सुन्दरहरैचा-५ का १९ वर्षीय कबिन राईलाई ४ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

पथरीशनिश्चरे-१० का १८ वर्षीय रविन थाङ्देन, २१ वर्षीय अमृत तामाङलाई प्रतिबन्धित औषधी २ सय ३८ ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।

इटहरी पकलीका २६ वर्षीय मोसादिक मिँया, ३५ वर्षीय मोहम्मद समिर मिँयालाई इलाका प्रहरी कार्यालय पकलीले ब्राउनसुगर ४ ग्राम ६२० मिलिग्राम सहित पक्राउ गरेको छ ।

भेडेटारमा यात्रुवाहक बसबाट धनकुटा सहिदभुमी-७ का ३२ वर्षीय चिरञ्जीवी राईलाई १५ किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । धनकुटा साँगुरीगढी इलाका प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्दा राईलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेको ९ जनाबाट कुल ९७ ग्राम ९८ मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाइएको छ ।