वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले होटल तथा होमस्टे हस्पिटालिटी व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरेको छ ।
पर्यटकीय क्षेत्रमा रहेका होटल, होमस्टे र नगरपालिकाका मुख्य बजारमा रहेका होटल व्यवसायीहरूलाई सहभागी गराएर उक्त होटल तथा होमस्टे हस्पिटालिटी व्यवस्थापन तालिम नगरपालिकाले सुरु गरेको हो ।

चतरा स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा मङ्गलवारदेखि सुरु तालिमको उद्घाटन भएकाे नगर प्रमुख रमेश कार्कीले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले वराहक्षेत्र आउने पर्यटक, अतिथिहरूलाई फेरी पनि आउने वातावरण र संस्कार सहितको सेवा दिन आग्रह गरेका थिए ।
वराहक्षेत्र नगरपालिका पर्यटकीय क्षेत्र भएकाले पर्यटनमैत्री, सफा, स्वच्छ, व्यवहार सहितको सेवा र सुविधा दिन नगर प्रमुख कार्कीले होटल व्यवसायीहरूलाई आग्रह गरेका थिए । नगर भित्र रहेका होमस्टेहरूलाई व्यावसायिक र व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्ने हुने बताए ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम, लेखा अधिकृत वीरेन्द्र यादव, आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, उद्योग वाणिज्य चतराका अध्यक्ष कृष्ण कट्टेल, आदर्श माविका पूर्व प्रधानाध्यापक ज्ञानबहादुर पाण्डे, आदर्श सिकाई केन्द्रका अध्यक्ष गोकुल गुरागाईँ लगायत उद्योग वाणिज्य चतराका पदाधिकारीहरूको आतिथ्यता रहेको थियो ।
नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास शाखामार्फत सुरु भएको तालिममा ७० जना भन्दा बढी होटल र होमस्टे सञ्चालकहरूको सहभागिता रहेको छ ।
तालिममा होटल तथा होमस्टे हस्पिटालिटी व्यवस्थापन, सञ्चालन, अतिथि संस्कार, सुविधा लगायतको विषयमा शिक्षा प्रदान हुने नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए । तालिममा अभिषेक श्रेष्ठ, कविता तामाङ लगायतका प्रशिक्षकहरूले सहजीकरण गर्नेछन् ।
बुधवारदेखि सुरु तालिम शुक्रवारसम्म तिन दिनसम्म सञ्चालन हुनेछ ।