धरान : धरान उपमहानगरपालिकाले ‘धरान डे’को अवसरमा पब्लिक हाई स्कुलको मैदानमा लगाएको मेलामा १०२ वटा स्टलहरू मध्ये दुई तिहाइ स्टलहरूमा मदिराजन्य पेय पदार्थ विक्री वितरण भइरहेको छ ।

पाँच दिन सम्म चल्ने मेला शुक्रवार देखी सुरु भएको हो । मेलामा यसअघि धरानमा प्रतिबन्धित गरिएका खेल तमासाहरू पनि सञ्चालनमा छन् ।

धरान उपमहानगरपालिकाले मेलाको उद्देश्य स्थानीय स्तरमा उत्पादन भएका कृषि जन्य सामाग्री र शिक्षा, स्वास्थ्य, पर्यटन पूर्वाधारलाई प्रवर्द्धन गर्ने भनेको थियो । मेलामा त्यस्तो स्टल नगण्य मात्र छन् । दुई तिहाइ स्टलहरूमा मदिराजन्य पदार्थ खुल्ला बिक्री वितरण भएको देखिन्छ ।

मेलाको मूल नारा भने ‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहु सांस्कृतिक आवासीय समृद्ध सहर’ रहेको छ । अघिल्ला वर्षहरूमा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न जातीय संस्थालाई तिन पानेको स्टल राख्न दिएको थियो ।

यसअघि सार्वजनिक लगाइने मेला महोत्सवमा समेत बोतल बन्द मादक पदार्थ बिक्री वितरण रोक लगाइन्थ्यो । यसपालि भने खुलेआम बोतलमा पाइने रक्सी बिक्री वितरण भइरहेकाले सुरक्षा जोखिम उपेक्षित भएको पाइएको छ ।

मेलामा शैक्षिक, कृषि, पर्यटन लगायतका स्टलहरू छैनन् । विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी लगायतका स्टल छैन । धरानको उत्पादन भनी व्यापक प्रचार प्रसाद हुँदै आएको अदुवा ,बेसार, अम्लिसो, रुद्राक्ष, मौरीको महका कुनै स्टल मेलामा छैन ।

उपमहानगरपालिकाले सञ्चालन गरेको उत्सव नभई मेला होटेल एसोसिएसन, मदिरा व्यवसायी सङ्घले आयोजना गरेको जस्तो देखिएको छ ।

उपमेयर अइन्द्रबिक्रम बेघाको स्वकीय खेम रनपहेलिले मेलामा ७ वटा नर्सरी ८ वटा सचिवालय र ८३ वटा स्टल समेत कुल ९८ वटा रहेका बताए । उनले भने ‘धेरै स्टलको माग भएकोले थप गरिएको भएपनी उत्पादनशील बस्तुहरूलाई स्टल उपलब्ध गर्न नसकिएको हो ।’ मेलामा कुल १०२ वटा स्टल छन् ।

मेलामा नेपालको कृषि उत्पादनको प्रचार प्रसार सहित व्यवसायीक उद्देश्य टाढाबाट आएका कृषि र्फमहरुलई स्टल नदिएको यसअघि मिडियामा सार्वजनिक भएको थियो । 

हुम्ला, जुम्ला,पोखरा लगायत ६ स्थानबाट दसौँ हजार खर्च गरी आएका पाहुना टोली स्टल नपाएर फर्किएका हुन । अर्ग्यानिक बस्तु तेह्रथुमे ढाका, स्याउ, मार्सी चामल, भीर मौरीको मह जस्ता उत्पादनलाई धरान उपमहानगरपालिकाले स्थान नदिएको हो ।