इटहरी : नेकपा एमाले सुनसरी २ को निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी द्धारिकलाल चौधरीले पाएका छन् । यसअघि अध्यक्ष केपी शर्मा ओली विरुद्ध अभिव्यक्ति दिएको भन्दै कारबाहीमा परेका उनलाई बिना सर्त संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।
इटहरी उपमहानगरपालिकाको पूर्व मेयर समेत रहेको चौधरी इटहरीका प्रभावशाली नेताको रूपमा चिनिन्छन् । निर्वाचनको नतिजा नै प्रभावित पार्न सक्ने नेताको रूपमा मानिएका उनलाई परिचालन कमिटीको जिम्मेवारी दिएर एमालेले चुनावी अभियान अगाडी बढाएको हो ।
यसअघि चौधरीकै पालामा उपमेयर रहेकी लक्ष्मी गौतमलाई संयोजकको जिम्मेवारी प्रदान गर्ने सहमति भएको थियो । पूर्व केन्द्रीय सदस्य समेत रहेकी गौतमको नेतृत्वमा निर्वाचनमा होमिने सहमति भए पनि उनले अन्तिम समयमा नयाँ सर्त राखेपछि कमिटीले पूर्णता पाएन ।
उनले तीन वटा सर्तमा सहमति भए मात्र संयोजक बस्ने भनेपछि चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार गौतमले आगामी २०८४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयरको टिकट अहिल्यै फाइनल हुनुपर्ने पहिलो सर्त राखेकी थिइन् । चुनावी अभियानमा डेढ वर्ष अगाडी नै टिकट फाइनल नहुने र केन्द्रको भूमिकाको विषयमा तल्लो तहले निर्णय गर्न नसक्ने भएपछि सहमति भएन ।
२०७९ मा एमालेबाट मेयरका उम्मेदवार रहेका यामकुमार सुब्बाले आफूलाई चुनावमा हराउन लक्ष्मी गौतम, रेवती रमण भण्डारी लगायत नेताहरू लागेको भन्दै जिल्ला मार्फत उजुरी दर्ता गराएका थिए । सो उजुरी फिर्ता लिएर सुब्बाले माफी माग्नुपर्ने गौतमले प्रस्ताव गरेको एमाले नेताहरूले कपुरी न्युजलाई जानकारी दिएका छन् ।
त्यस बाहेक केन्द्रीय कमिटीमा मनोनीतको लागि सिफारिस गर्नुपर्ने उनको अर्को सर्त थियो । तीन वटै सर्तमा ठोस सहमति हुन नसकेपछि नयाँ विकल्प खोजिएको नेताहरूले बताएका छन् । नयाँ विकल्पको रूपमा स्थानीय स्तरमा प्रभावशाली मानिएका चौधरीलाई छनौट गरिएको हो ।
२०७९ को निर्वाचनमा एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका उनी पुनः एमालेमा फर्किएका थिए । एमालेमा फर्किए लगत्तै ओली विरोधी अभिव्यक्ति दिएपछि उनलाई कारबाही गरिएको थियो । एमाले नेतृत्वबाट उपेक्षित चौधरीले आगामी निर्वाचनमा नयाँ अवसर पाउने अनुमान गरिएको छ ।