धरान : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । नगर प्रमुख साम्पाङले आज आइतबार उपप्रमुख अईन्द्रविक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन ।
कार्यपालिका बैठक कक्षमा वडाध्यक्षहरूको उपस्थिति बिच प्रमुख साम्पाङले उपप्रमुख बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन ।
उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएकोले पदबाट राजीनामा दिएको बताउँदै नगर प्रमुखको नेतृत्वमा रहँदा धराने जनताको अपार माया र विश्वास पाएकोमा धन्यवाद व्यक्त गरे ।
आफ्नो योजना प्रधानमन्त्री बन्ने रहेको उल्लेख गर्दै साम्पाङले आगामी राजनीतिक यात्राका लागि जनसमर्थनको अपेक्षा रहेको उनले बताए । साम्पाङले श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।
साम्पाङले २०७९ जेठ १० गते नगरपालिकामा प्रमुखको कार्यभार सम्हालेका थिए । उनी कुल ३ वर्ष ८ महिना २४ दिन पदमा रहेको उपमहानगरपालिकाले जनाएको छ ।
धरान १७ का वडा अध्यक्ष मनोजको राजीनामा कार्यवाहक नगर प्रमुख बेघाद्वारा स्वीकृत
नगर प्रमुख साम्पाङले पदबाट राजीनामा दिएपछि कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा समक्ष धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई मनोजले पदबाट राजीनामा दिएका छन् ।
उनको राजीनामा कार्यवाहक नगरप्रमुख बेघाले स्वीकृत गरेको उपमहानगरपालिकाले जनाएको छ । वडाध्यक्ष भट्टराई पनि फागुन २१ हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् ।
राजीनामा बुझाउने अवसरमा वडाध्यक्ष भट्टराईले साम्पाङ लाई राजनीतिक प्रतिस्पर्धामा जितको लागि शुभकामना दिए ।
चुनावी मैदानमा भेट हुँदा मित्रवत् व्यवहार गर्न निवर्तमान प्रमुख साम्पाङसंग आग्रह गरेका छन् ।