धरान : प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ मा नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार मनोज भट्टराई भोट माग्दै घरदैलो घरदैलो पुग्न थालेका छन्।
आइतबार बिहान उम्मेदवार सूर्यबहादुर भट्टराई ‘मनोज’ले धरान–१४ करम डाँडाबाट घरदैलो अभियान सुरु गरेका हुन्।
उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा र भावी योजनाबारे जानकारी गराएका छन्। घरदैलोका क्रममा जनतालाई सम्बोधन गर्दै भट्टराईले आफू एकता, सद्भाव र विकासको स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताए। 
उनले धरानको दीर्घकालीन खानेपानी समस्याको समाधानलाई प्रमुख राजनीतिक एजेन्डा बनाएको उल्लेख गरे।भट्टराईले धरान–१४ लाई धार्मिक तथा ऐतिहासिक वडाको रूपमा घोषणा गर्ने योजना प्राथमिकतामा रहेको जनाउँदै यसले वडाको पहिचान मजबुत हुनुका साथै पर्यटन र स्थानीय विकासमा टेवा पुग्ने बताए।
सुकुम्वासी समस्या दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता
सुकुम्वासी समस्याबारे बोल्दै भट्टराईले यसलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा जोड दिए। नयाँ सुकुम्वासी थपिन नदिने र हाल रहेका सुकुम्वासीहरूको उचित व्यवस्थापन गर्ने नीति लिइने उनले बताए।आफ्नो कार्यकालमा घर नम्बर, खानेपानी र बिजुली जस्ता आधारभूत सुविधाको सुरुआत गरिएको स्मरण गराउँदै व्यवस्थित बस्ती विकासतर्फ आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।
मेयर हर्क साम्पाङसँगको सम्बन्धबारे भट्टराईले व्यक्तिगत इगो नभई वैचारिक र कार्यशैलीगत असहमति मात्र रहेको प्रस्ट पारे। साम्पाङको खराब कार्यशैलीको मात्र आलोचना गरिएको र कुनै व्यक्तिगत आक्षेप नरहेको उनको भनाइ छ ।