धरान : फागुन २१ गते हुने चुनावमा सुनसरी १ बाट सचेत र विवेकशील मतदाताले सक्षम नेतृत्वको रूपमा आफूलाई रोज्ने सुनिश्चित भएको उम्मेदवार सुजेन्द्र तामाङले उद्घोष गरेका छन् ।
नेपाली काँग्रेसको आज सोमवार भानु चौकमा आयोजित चुनावी सभामा उनले भने ‘अहिले सम्म धरानबाट काँग्रेसले निर्वाचित भएर संसदमा प्रतिनिधित्व गर्न नपाउँदा धरान धेरै पछाडि प¥यो, अब सुनसरी १ का मतदाताहरू सचेत भएका छन्, यसपाली काँग्रेसलाई जिताएर पहिलेको गल्ती सच्याउने भएका छन् ।’
उनले काँग्रेसले चुनाव नजिते पनि कुनै बेला मृत शहर बनिसकेको धरानलाई आर्थिक पूनजागरणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको बताए । बिपीलाई डिजिटलको युगानुकुल प्राविधिक रूपमा रूपान्तरण गर्ने नयाँ पहल आवश्यक भएको बताउँदै त्यसको लागि संसद् र सरकारमा आवाज उठाउने तामाङले बताए ।
खानेपानीको हाहाकारको बेला एडिबीको सहयोगमा खानेपानी परियोजना ल्याउनमा काँग्रेसको महत्पूर्ण भूमिका भएको बताउँदै उनले भने ‘त्यस परियोजनाको कारण थोरै भए पनि धरानमा खानेपानीको सङ्कट टरेको छ ।’ कोशीबाट पानी ल्याउन नयाँ परियोजना सुरु गर्न प्रभावकारी भूमिका खेल्ने उनले प्रतिबद्धता जनाए ।
अहिले सम्म सुनसरी १ को संसदीय प्रतिनिधिको प्रभावशाली भूमिका नहुँदा धरानमा राष्ट्रिय गौरवको योजना नआएको उनको भनाई थियो ।
सांसदले सरकार र सदनमा प्रभावकारी ढङ्गले लबिङ गर्न नसके भएका योजनाहरू पनि ल्याप्स हुने गरेको बताए ।धरानमा राष्ट्रिय गौरवको बहुउद्देश्यीय धरान–तमोर सुरुङ मार्ग कार्यान्वयन गराउने प्रतिबद्धता जनाउँदै उनले उक्त परियोजनाबाट धरानको आर्थिक समृद्धिका लागि सडक सञ्जाल, जलविद्युत उत्पादन गरी विद्युतीकरण, कृषिका लागि सिचाई सुविधा जुटाउने लक्ष्य राखिने उनले बताए ।
उनले सर्दु जलाधारका नाममा रहेका ३५ सय घरधुरीको समस्या मध्यनजर गर्दे जग्गा फुकुवा गर्ने बताए । सहकारी समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सुकुम्वासीलाई हक अधिकार र सुरक्षित गाँस–वास सुविधा प्रदान गर्ने उम्मेदवार तामाङले प्रतिबद्धता जनाए ।
उनले भने ‘धराने जागरूक मतदाता अब चटके, जादुगर र दोयस फैलाउनेलाई होइन, अनुभवी र सक्षम नेतृत्वलाई भोट हाल्ने तयारीमा छन् ।’ योग्यता र क्षमतालाई कदर गर्ने, जनताको आवाज र भावना बुझ्ने नेतृत्व आवश्यक रहेको सुनसरी १ का जनताले बुझेको उनको भनाई थियो ।
उम्मेदवार तामाङले निर्वाचनमा डर, त्रास र भयविहीन वातावरण कायम गर्न सरकारसँग आग्रह गरे । उनले भने “निषेध र डरको राजनीति होइन, अनुभवी नेतृत्व चाहिन्छ ।’