धरान : नेपाली काँग्रेसका प्रभावशाली नेता सहमहामन्त्री भीष्मराज आङदम्बेले फागुन २१ गतेको निर्वाचन नयाँ र पुरानो पार्टी, व्यक्तिको चुनाव भन्दा राष्ट्रिय स्वाधीनता बचाएर राख्ने कि पराधीन बन्ने प्रश्नसँग गाँसिएको बताएका छन् ।
उनले भने ‘राष्ट्रियताको जग जोगाउनु आजको सबैभन्दा ठुलो अपरिहार्यता हो, नेपाली काँग्रेस देश टुक्र्याउने होइन, जोड्ने पार्टी हो ।’ त्यसैले यो चुनावमा नेपाली काँग्रेस समयको माग अनुरूप पुरानो चलन पुरानो मान्यता बदलिएर नयाँ गति सहित होमिएको बताए ।
धरानमा सुनसरी १ का काँग्रेस उम्मेदवार सुजेन्द्र तामाङको चुनावी सभामा नेता आङदम्बेले भने ‘जेनजी पुस्ताले गरेको भ्रष्टाचार, नातावाद, कृपावाद र राजनीतिक विकृति विरुद्ध गरेको विद्रोहलाई नेपाली काँग्रेसका युवा पुस्ताले पार्टी भित्रै दोर्याएर नयाँ नेतृत्व निर्माण गरेको छ ।’
त्यसैले अब नेपाली काँग्रेस पुरानो स्मृतिको पार्टी नभई अनुभव र नवीन सोचको संगम नयाँ राजनीतिक शक्ति बनेको बताए । उनले भने ‘काँग्रेस आज सबै वर्ग, सबै समुदायको साझा पार्टी बनेको छ, रगत, पसिना र बलिदानको इतिहास बोकेको पार्टी आफू जलेर पनि शालीनता नछोड्ने बनेर अगाडि बढेको छ ।’
विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन कुमार थापा र विश्वप्रकाश शर्माको उदयसँगै पार्टीले हराएको आत्मविश्वास फिर्ता पाएको उनको भनाई थियो ।
धरान कसैको पेवा होईन :
सहमहामन्त्री आङदाम्बेले धरान कुनै जाति, धर्म वा समूहको पेवा नभई साझा फूलबारी भएको भएको बताउँदै भने ‘धरान बहु जातीय, बहु सांस्कृतिक त्रिवेणी हो, यसलाई जोगाउनु सबैको साझा दायित्व हो, त्यो दायित्व फेसबुक, टिकटक र फोटो सेसनको राजनीतिले होइन, धरातलीय यथार्थमा उभिएर भूमिका निर्वाह गर्नुपर्छ ।’
विकास र संस्कृतिबिच सन्तुलन आवश्यक भएको बताउँदै उनले भने ‘विकासका नाममा संस्कृति र संस्कार नष्ट हुनु हुँदैन, संस्कृतिको नाममा विकास अवरुद्ध हुनु हुँदैन, यही सन्तुलन नै मुलुकको भविष्य हो ।’
पछिल्लो समय धरानलाई ‘सेलिब्रेटीको शहर’ बनाउने प्रवृत्ति हाबी भएकोमा टिप्पणी गर्दै उनले भने ‘धरान फोटोजेनिक ठाउँ मात्र होइन, सेलिब्रेटीको फोटो खिच्ने ठाउँ मात्र होइन, धरान इतिहास र संस्कृति जोगाएर बसेको शहर हो ।’
धरान भगौडाको शहर होइन :
धरान उपमहानगरपालिका प्रमुखमा चुनिएका हर्क साम्पाङले बिचैमा राजीनामा दिएकाले धरान भगौडाको शहर भन्न थालिएको जनगुनासो उल्लेख गर्दै उनले भने भन्न थालिएको जनगुनासो उल्लेख गर्दै उनले भने ‘धरान भगौडाको शहर होइन ।’
निर्वाचनको मुखमा जेनजी विद्रोहको अपमान गर्दै नगर प्रमुखको पदावधि पुरा नगरी उम्मेदवार बन्ने प्रवृत्तिलाई अब धराने जनताले तिरस्कार गर्ने आङदम्बेले बताए । काठमाडौँ र धरानका महानगर र उपमहानगरको निर्वाचनमा सस्तो लोकप्रियताको नाममा राजनीति गर्नेले यो चुनावमा जिम्मेवार जनताको सामना गर्नुपर्ने उनले भनाई थियो ।
आङदाम्बेले हर्क साम्पाङको शैलीलाई सेलिब्रेटी शैली र हल्का फुल्का मनोरञ्जनात्मक प्रदर्शन गर्ने प्रवृत्ति धरान जस्तो शहरको धरातलीय र जिम्मेवार नेतृत्व, सांस्कृतिक सन्तुलन प्रतिकुल अनुत्तरदायी राजनीति भएको बताए ।
फेसबुके लोकप्रियता नै राजनीति होइन
उनले भने ‘गिटार बजाएर ‘छि छि, थ्या थ्या, थुतूँ’ गर्दै राजनीति गर्नु समस्याको समाधान होइन, जनताको जीवनप्रति जिम्मेवार बन्नु वास्तविक राजनीति हो ।’ राजनीति केवल आकर्षक प्रस्तुति, फोटो–भिडियो र लोकप्रिय शैलीबाट अघि बढ्दैन, जनताको जीवन, दुःख, रोजगारी, सेवा, समृद्धि र भौतिक आवश्यकतासँग जोडिएको धरातलीय र जिम्मेवार राजनीति नै समयको माग भएको उनले बताए ।
जनताको जीवनप्रति जिम्मेवार बन्नु नै वास्तविक राजनीति भएको बताउँदै आङदम्बेले भने ‘साङ्घातिक, भावनात्मक वा मनोरञ्जनात्मक शैलीले मिडियामा शीर्षमा ल्याउन सक्छ, तर जनताको दैनिक जीवनमा ठोस प्रभाव नपरेसम्म त्यो राजनीति हुँदैन ।’