धरान : विमल गुरुङ पुस्तकालयद्वारा कात्तिक १९ गते हुने ३५ औँ राष्ट्रिय कविता महोत्सव प्रतियोगीताकालागि कविहरूसँग कविता पठाउन आव्हान गरेको छ । सोही अवसरमा प्रदान गरिने विमल गुरुङ कृति पुरस्कारका लागि लेखकहरूसँग नेपाली भाषाको पुस्तक पठाउन आव्हान गरेको छ ।
पुस्तकालय सञ्चालन समितिको मङ्गलवार बसेको पूर्ण बैठकले कविता र पुस्तक आव्हान गर्ने निर्णय निर्णय गरेको हो ।
समितिका उपाध्यक्ष प्रदीप मेन्याङ्बोका अनुसार कृति पुरस्कारका लागि प्राप्त दर्ता भएका पुस्तकहरू मध्ये निर्णायक मण्डलले सबैभन्दा पहिले उत्कृष्ट १० कृति छनौट गर्ने छ ।
छनोट भएका १० कृतिमध्येका श्रेष्ठ एक कृतिलाई ताम्रपत्र र दोसल्ला सहित नगद २ लाख रुपैयाँको ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरिने छ ।
पुस्तकालय संरक्षक अध्यक्ष  पूर्णबहादुर गुरुङले कृति पुरस्कारका लागि पुस्तकालयमा २०८२ साल भरी प्रकाशित सबै खाले (आख्यान र गैर आख्यान) विधाका पुस्तक आव्हान गरिएको बताए ।
नेपाल र अन्य मुलुकमा बस्ने लेखक, कवि साहित्यकारहरूले नेपाली भाषामा लेखिएको ४ प्रति पुस्तक आगामी असोज १५ गते भित्र धरान–१८ बुद्ध चोक स्थित विमल गुरुङ स्मृति पुस्तकालयमा दर्ता गरिसक्नु पर्ने प्रावधान राखिएको छ । 
कविता महोत्सवमा उत्कृष्ट ठहरिएका कविताहरू मध्ये प्रथमलाई स्वर्ण पदक सहित २१ हजार रुपैयाँ, दोस्रोलाई रजत पदकसहित १९ हजार रुपैयाँ र तेस्रोलाई कास्य पदकसहित १८ हजार रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगीताका लागि कविताहरू पुस्तकालयको आधिकारिक इमेलमा पठाउनु पर्ने पुस्तकालय सञ्चालक समितिले जनाएको छ । 
सोही अवसरमा नगद १० हजार रुपैयाँ सहित एक जना युवा स्रष्टालाई ‘विमल गुरुङ स्मति पुस्तकालय प्रतिभा सम्मान’ प्रदान गरिने अध्यक्ष गुरुङले बताए । 
कृति पुरस्कार र कविता महोत्सवमा विजेताहरूलाई कात्तिक १९ गते आयोजना हुने विमल गुरुङको ५५ औँ जन्म जयन्ती, ३५ औँ राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने छ ।