डा. अबुल हुसेन अन्सारी
पहेँलो रङ्ग खुसी, आशा, ऊर्जा, ज्ञान, बुद्धि, समृद्धि र धार्मिक प्रतीक पनि मानिदैं आएको छ । नेपालका लागि पहेँला धान र गहुँका बाला लहरिने मधेस प्रदेश पनि खुसी, आशा, ऊर्जा, ज्ञान, बुद्धि र समृद्धिको प्रतीक नै हो ।
तर बेला–बखत त्यही रङ्गलाई निहुँ बनाएर मधेसलाई अशान्त पार्ने खेल वर्षौँदेखि हुँदै आएको छ। शान्त मधेसका जनतालाई विग्रहित र खण्डित बनाउन अशान्तिका बाछिटा फ्याँक्ने काम भइरहनु दुखद हो। यसको पछिल्लो उदाहरण केही दिन पहिले सुनसरीको देवान गन्जबाट सुरु भएको साम्प्रदायिक घटनालाई लिन सकिन्छ।
देवानगञ्ज गाउँपालिका सुनसरीको सबैभन्दा दक्षिणमा पर्छ। पालिकाको दक्षिणमा भारतको फुलकाहा बजार पुग्न जम्मा दुई किलोमिटर छ। २०७८ को राष्ट्रिय जनगणना अनुसार देवानगञ्जमा ३९ हजार ३ सय ६७ जनसङ्ख्या मेहता (कुशवाहा) जातिको उल्लेख्य जनसङ्ख्या रहेको छ।
यहाँ यादव, मुसलमान, गडेरी, मुसहर, उराँव, धानुक, मलाह, वाँतर, भगत र कलबार, तत्मा, पासवान, सुँडी, थारु, तेली, नेवारलगायत करिब ४५ जातजातिको बसोबास छ। १० वटा भाषा बोलिने यो पालिकामा मुख्य रूपमा हिन्दु र त्यसपछि इस्लाम धर्मावलम्बीहरूको बाहुल्य छ।
समग्रमा हेर्दा यो पालिका विभिन्न जातजाति, भाषाभाषि, धर्म, संस्कृति भएका मानिसहरूको बसोबास रहेको सुन्दर फूलबारी हो। जुन फूलबारीमा आफ्नै अस्तित्व बाकेका सामाजिक र धार्मिक मूल्य, मान्यताहरू महत्त्व छरिरहेका हुन्छन्। तर, यही पालिकामा जे घटना घट्यो, त्यसले सिङ्गो देशलाई स्तब्ध बनाइ दियो।
देवानगञ्ज–३ को कप्तानगञ्जस्थित शिव मन्दिर आसपास घटनाको सुरुवात भएको हो। कप्तानगञ्ज भारतीय सीमाबाट डेढ किलोमिटर मात्रै दूरीमा छ। कप्तानगञ्जमा बेला बखतमा धार्मिक तथा सांस्कृतिक मेला भइरहेका हुन्छन्। तराईमा हिन्दु धर्मावलम्बीले बोलबमलाई साउन महिनाभर भगवान् शिवप्रति आस्था व्यक्त गर्दै मनाउँछन्। उनीहरूले सप्तकोशीको जल ल्याएर शिव मन्दिरमा चढाउने गर्छन्।
अर्को दिन सोमबार भएकाले आइतबार साँझ सप्तकोशीको जल लिन एउटा समूह यात्रामा निस्कने तयारीमा थियो। त्यहाँ ठुलो आवाजमा डिजे बनाइएको थियो। साउनको चर्को गर्मीमा बत्ती गएको थियो। अर्को पक्षका केही युवा घरबाहिर निस्केका थिए।
सुत्ने बेला आफूहरूको घर टोलतिर माइक फर्काएर नियतवश डिस्टर्ब गर्न खोजेको भन्दै उनीहरूले डिजे माइक साउन्ड बन्द गर्न आग्रह गरे। सामान्य विवादले त्यहाँ खटिएका प्रहरीकै अगाडि उग्र रूप लियो। दुई समूहबिच हानाहानको स्थिति सिर्जना भयो। प्रहरीको सक्रियतामा डिजे साउन्ड बन्द गर्न लगाउने समूह फर्कियो। तर, डिजे बजाउने टोली आक्रोशित बन्यो।
उनीहरू र प्रहरीबिच नै झडपको अवस्था सिर्जना भयो। प्रहरी हवाई फायरकै अवस्थामा पुग्यो। एकै छिन अगाडि उत्सवमय बनेको देवानगञ्ज एक छिनमा रण मैदानमा परिणत भयो
अवस्था भयावह बनेपछि सरकारले स्थिति नियन्त्रण लिन तत्काल प्रयास गर्नु पर्ने थियो। त्यो पनि सकेन। मधेसमा साम्प्रदायिक द्वन्द्व पहिलो पटक भने भएको होइन, यसअघि पनि थुप्रै पटक यस्तै प्रकृतिका घटना घटेका छन्। तर, सरकार मधेसका विषयमा कहिले गम्भीर देखिँदैन।
यति बेला त देशको प्रधानमन्त्री पनि मधेसले नै जन्माएको पुत्र छन् । तर, उनीमा पनि गाम्भिर्यता देखिएन। द्वन्द्व निकैअघि बढेपछि मात्र सरकार गम्भीर बन्यो। यसअघि रौतहटको ‘गाई काण्ड’ नामले परिचित घटना २०२७÷२८ सालमा पञ्चायती व्यवस्थाको समयमा भएको थियो। रौतहट जिल्लामा मुसलमान समुदायले गाई काटेको हल्ला फैलिएसँगै उक्त घटना घटेको थियो। त्यो घटना ‘गाई काण्ड’ले परिचित छ।
त्यसपछि २०६३ पुस १० र ११ गते नेपालगन्जमा दंगा भयो। नेपाल सद्भावना पार्टी (आनन्दी देवी)ले अन्तरिम संविधानको विरोधमा तराई बन्द ग¥यो। बन्द क्रममा सवारी साधन तोडफोड भएपछि स्थानीय रूपमा पहाडी र मधेसी समुदायबिच तनाव बढ्यो। उक्त घटना यति उग्र बन्यो कि एक युवकले ज्यान गुमाउनुका साथै २६ जना घाइते भए।
स्थानीय प्रशासनले कफ्यू आदेश जारी गर्यो। पछि आक्रमणको मुख्य निशानामा मुस्लिम समुदायका बजार, पसल र मस्जिदहरू परे। वि।सं। २०६४ भदौ ३० देखि असोज ४ गतेसम्म कपिलवस्तुको चन्द्रौटामा ठुलो साम्प्रदायिक हिंसा सिर्जना भयो।
स्थानीय मुस्लिम नेता मोहित खानको हत्यापछि त्यहाँ द्वन्द्व सिर्जना भएको थियो। भदौ ३० गते बालपुरमा अज्ञात बन्दुकधारी समूहले उनको गोली हानी हत्या गरिदियो। खानका समर्थकले उनको हत्याको आक्रोशमा पर्वते समुदायको सम्पत्तिमाथि आक्रमण गरेका थिए। उक्त हिंसा साम्प्रदायिक द्वन्द्वमा परिणत हुँदा १४ जनाले ज्यान गुमाए।
मानवीयताको खोजी र धार्मिक सहिष्णुता
माथिका त केही प्रतिनिधि उदाहरण मात्र हुन्। यसरी साम्प्रदायिक हिंसा नेपालमा थुप्रै पटक घटेको छ। यस्तो हुनुको एउटै कारण हो– मानवीय चेतनाको अभाव। नेपाल र नेपाली समाजले सधैँ गर्व गर्ने विषय धार्मिक तथा सांस्कृतिक विविधता तथा आपसी सहिष्णुता हो। यहाँ विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्बीहरू शताब्दीऔंदेखि हातेमालो गर्दै एकै आँगनमा बस्दै आएका छन् ।
तर, पछिल्लो समय घटेका घटनाले हाम्रो गौरवशाली सामाजिक सद्भावमा आँच पुर्याउने प्रयत्न गरिरहेका छन्। त्यसैले देवानगञ्ज घटनालाई जोडेर दुई समुदाय वा धर्मबिच द्वन्द्वको बीउ रोप्नु वा यसलाई साम्प्रदायिक रङ्ग दिनु हुँदैन। यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रतिबद्धता व्यक्त गर्नु पर्दछ।
यस्ता हिंसामा जसले ज्यान गुमाए पनि नेपाली दाजुभाइकै ज्यान जाने हो। जसको कोख रित्तिए पनि नेपाली आमाकै कोख रित्तिने हो। यस्ता घटनाहरूले कुनै पनि समस्याको समाधान गर्दैनन्, उल्टै समाजमा अनावश्यक तिक्तता, डर र अविश्वास मात्रै फैलाउँछन्।
अर्को कुरा कुनै पनि समाजमा धर्म वा जातको नाममा हुने हिंसा वा विवादहरू स्वतः उत्पन्न हुँदैनन्। यसका पछाडि हाम्रो चेतनाको कमी, सङ्कुचित सोच र स्वार्थी तत्त्वको उक्साहट मुख्य रूपमा जिम्मेवार हुन्छ। इतिहास साक्षी छ जब मानिसमा विवेक र चेतनाको दायरा साँघुरिन्छ, तब उसले सत्य र असत्य छुट्याउने क्षमता गुमाउँछ।