इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको घटनाको विषयमा छानबिन गर्न बनेको समितिले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ । साउन १० गते देवानगञ्जबाट सुरु भएको आन्दोलन देशव्यापी बनेपछि सरकारले छानबिन समिति बनाएको हो ।
धार्मिक रूपमा फैलिएको प्रदर्शन आक्रामक बनेपछि सरकारले सुनसरी र सिराहा घटनाको अनुसन्धान गर्न दुई वटा समिति बनाएको थियो । सो समितिको प्रतिवेदनले कुनै पनि धार्मिक द्वन्द्व नभएको र बाहिरी संलग्नता नभएको निष्कर्ष निकालेको छ । 
बाहिरी घुसपैठको कारण हिन्दु धर्मावलम्बीमाथि आक्रमण भएको गुनासो भएपछि सरकार गम्भीर बनेको थियो । गृहमन्त्री स्वयम् सुनसरी र सिराहाको घटनास्थलमा पुगेर भेटघाट गरेका थिए ।  
गृह मन्त्रालयमा मङ्गलवार बुझाएको प्रतिवेदन अनुसार नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीले ४ जनाको मृत्यु भएको निष्कर्ष निकालेको छ । छानबिन समितिका अनुसार सुनसरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट जम्मा २० राउन्ड गोली चलेको पाइएको छ । सुरक्षाकर्मीको गोली लागेर सबैभन्दा पहिला स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घाइते भएका जयप्रकाश मेहता र रवीन्द्र मेहताको उपचारको क्रममा मृत्यु भएको थियो । 
सिराहामा पनि प्रहरीले चलाएको गोलीका कारण गणेश यादवको मृत्यु भएको निष्कर्ष समितिले निकालेको छ । सिराहामा घटना भएको ठाउँमा जम्मा ९ राउन्ड गोली चलेको समितिको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये ७ राउन्ड डमी र २ राउन्ड पेस्तोलबाट गोली चलेको बताइएको छ
समितिले ड्युटीमा रहेका प्रहरीलाई भने कारबाहीको सिफारिस गरेको छ । कारबाही सिफारिस गरिए पनि कस्तो कारबाही भनेर प्रस्ट रूपमा उल्लेख भने गरिएको छैन । प्रतिवेदनमा आवश्यक कारबाही मात्रै उल्लेख गरिएको छ । प्रतिवेदनमा कसको भूमिका–के भन्नेबारे पनि प्रस्ट रूपमा उल्लेख गरिएको बताइएको छ ।
कप्तानगञ्जको झडप नियन्त्रणमा लिन इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाशकुमार श्रेष्ठ फिल्डमा खटिएका थिए । कप्तानगञ्ज घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले छानबिन बनेको थियो । सिराहा घटनाको छानबिन गर्न गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो ।