डा. अबुल हुसेन अन्सारी
प्रकृतिका अनुपम सौन्दर्यले भरिपूर्ण, लाङटाङको काखमा मुस्कुराइरहने रसुवा जिल्ला एउटा भौगोलिक भूभाग मात्र थिएन। नेपाली इतिहाससँग जोडिएको वीरता, स्वाभिमान र प्राकृतिक सुन्दरताको सङ्गम स्थल थियो। तर, जब प्रकृतिले आफ्नो लय छाडेर रौद्र रूप धारण गरिन तब त्यो सबै सभ्यता बगरमा परिणत भइदियो। 
तिब्बत माथिको हिमालमा बनेको हिमताल फुटेर भोटेकोशी हुँदै त्रिशूलीमा मिसिँदा नेपालका थुप्रै बस्ती बगर बने। सयौँ मानिसको एकै चिहान बनाइदिएको छ। आँखै अगाडि थुप्रै व्यक्तिको जीवनभरको पसिना र सपना ढालिदियो।
भीषण बाढी र पहिरोले सिङ्गो बस्ती, जनावर, ढुङ्गा, माटो, काठ र गारो मात्र बगाएन, सिङ्गो परिवार, पुस्तौँदेखि साँचिएका अनगिन्ती सपनाहरू, पसिनाको कमाइ, बालबालिकाका खेलौनाहरू, आमाका चुरा(पोते, अनि परिवारका अमूल्य सम्झना बगरमा परिणत गरिदियो। 
म पनि राहत बोकेर ती बस्तीहरूमा पुगे। त्यहाँको अवस्था देख्दा मैले मन थाम्नै सकिन। हिजोसम्म जहाँ बालबालिकाको कलिलो हाँसो गुन्जिरहेको थियो, जहाँ बुढापाकाहरू आँगनमा बसेर घाम ताप्दै सुख(दुखका कुरा गरिरहेका थिए, जहाँ साँझपख चुल्होमा आगो बल्थ्यो आज त्यहाँ केवल हिलोको विशाल दलदल, बालुवाको बगर, ठुला(ठुला ढुङ्गा र स्तब्धता मात्र बाँकी छ। 
बाढीले बस्ती बगाएपछि सिर्जना भएको दृश्य अत्यन्तै हृदय विदारक छ। आफ्नै हातले टोली(टोली थपेर बनाएको घर छिनभरमै भोटेकोशी वा त्रिशूलीको धमिलो छालमा बिलाउँदा मानिसहरू नाङ्गो आँखाले हेरिरहन बाध्य हुँदा कति मन पोलियो होला?
बस्ती बग्नुको प्रभाव केवल भौतिक विनाशमा मात्र सीमित हुँदैन। यसले मानिसको मानसिक, सामाजिक र आर्थिक आधार नै भत्काइदिन्छ। बस्ती बग्दा छरछिमेक र आफन्तहरू पनि छुट्टिएका छन्। हिजोसम्म एउटै आँगन साझेदार गरेका छिमेकी एकाएक बेपत्ता भएका छन्। धेरै ठाउँमा त बाढी र पहिरोले भूगोलको रुम नक्सा नै परिवर्तन गरिदिएको छ। 
जसले गर्दा थुप्रै व्यक्ति आफ्नो जन्मथलोको नक्सा नै गुमाउन विवश बनेका छन्। टेन्ट वा अस्थायी शिविरको बास र आफन्त गुमाउनुको उनीहरूको पीडा शब्दमा व्याख्या गरिन सक्नु छ। खुल्ला आकाश मुनी, चिसो हावा र भदौरे झरीबिच त्रिपाल टाँगेर बस्दा, सुत्ने ठाउँ, पिउने सफा पानी र पकाउने भाँडाकुँडा समेत छैन ।
बालबालिका तथा वृद्ध वृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीपछि फैलिने दूषित पानी, फोहोर र लामखुट्टेका कारण झाडापखाला, हैजा र छालाको रोगजस्ता महामारी फैलने उच्च जोखिम सहन उनीहरू बाध्य बनेका छन्। मैले त्यहाँ अवलोकन गर्दा अहिलेको सबैभन्दा आवश्यकताको विषय मानसिक परामर्श, झुल र सुरक्षित ठाउँको स्थानान्तर देखेँ। 
मरेका बस्तुभाउ र मानव शव सड्न थालेका छन्। त्यसे दुर्गन्ध तथा विभिन्न महामारी फैलाउने जोखिम बढाएको छ। मच्छरको डर तीव्र छ। डेंगु सङ्क्रमण र हैजा जस्ता महामारी फैलिने जोखिम उच्च छ। आफन्त गुमाउँदाको मानसिक तनाव थेगिन सक्नु छ। त्यसैले उनीहरूलाई मनोपरामर्श तथा महामारी नियन्त्रणका सामग्री अहिले अति आवश्यक छन्। यसतर्फ सरकारको ध्यान पुगोस् । 
अर्को कुरा, बाढीले रसुवामा पारेको प्रभावको हिसाब गरिन सक्नु छ। धनमालको क्षति त समय क्रममा फेरि उठ्न सकिएला तर जुन अमूल्य मानव जीवन गुमेको छ, त्यसको भर्पाई कहिल्यै हुन सक्दैन। सयौँ व्यक्ति अझै बेपत्ता छन्। बेपत्ता भएकाहरू फर्कने आसमा बाचेकाहरू टोलाइरहेका छन् । 
सडक खण्ड, पुल, जलविद्युत् आयोजना र सञ्चारका साधन ध्वस्त भएका छन्। यसले गर्दा बाँचेकाहरूसम्म राहत पुर्‍याउन र उद्धार कार्य चलाउनसमेत कठिन भइरहेको छ। चौपाया, अन्नपात, खेतबारी सबै बाढीले निलेपछि स्थानीय बासिन्दा भक्कानिइरहेका छन् । 
यो घाउ केवल रसुवावासी र पीडितहरूको मात्र नभई, सिङ्गो नेपाल र प्रत्येक नेपालीको मुटुमा लागेको चोट हो। जब जब हिमाली भेगमा यस्ता विपद् आउँछन्, त्यसले सिङ्गो देशको अर्थतन्त्र र सामाजिक तानाबानालाई नै हल्लाइदिन्छ।
त्यसैले यस्तो बेला हामी सबैले सकेको सहयोग गर्नुपर्छ। नेपाली समाजको सबैभन्दा ठुलो सौन्दर्य र शक्ति भनेकै सङ्कटको समयमा देखा पर्ने अभूतपूर्व एकता हो। २०७२ को महाभूकम्प होस्, कोभिड–१९ को महामारी होस् वा विभिन्न समयमा आउने बाढी पहिरो, नेपालीहरूले सधैँ एक अर्काको हात समातेर उभिन सिकेका छौँ। 
आज रसुवा र त्रिशूली आसपासका बस्ती रोइरहँदा सबै नेपाली एक भएर राहत तथा उद्धारमा जुटेका छौँ। यत्ति मात्र पर्याप्त छैन, हामीले यसको दायर फराकिलो बनाउँदै लैजानुपर्छ। अर्को कुरा विपद्को कुनै जात, धर्म वा राजनीतिक विचारधारा हुँदैन। बाढीले बगाउँदा कसैको परिचय हेरेको छैन। त्यसैले अहिलेको समय भनेको सबै प्रकारका सानातिना मतभेद, राजनीतिक स्वार्थ र भौगोलिक सीमालाई भुलेर हामी सबै नेपाली भन्ने मूल मन्त्रका साथ अघि बढ्नुपर्छ।
जब धेरै साना हात मिल्छन, तिनले ठुला(ठुला पहाड पनि पन्छाउन सक्छन्। ती बाढी पीडितलाई सहयोगको खाँचो छ। हाम्रा साना(साना प्रयासले पनि कसैको जीवन बचाउन सक्छ, कसैलाई न्यानो छाना दिन सक्छ र कसैको पेटको भोक मेट्न सक्छ। विपद्को यो घडीमा व्यक्तिगत र छरिएर गरिने सहयोगभन्दा एक द्वार प्रणालीमार्फत व्यवस्थित रूपमा गरिएको सहयोग बढी प्रभावकारी हुन्छ। 
राहत सामग्रीको दोहोरोपन रोक्न र वास्तविक पीडितसम्म सहायता र्पुयाउनका लागि सरकारी संयन्त्रलाई बलियो बनाउनु आवश्यक छ। त्यसका लागि हामी सरकारी राहत कोषमा रकम जम्मा गरौँ। आजको प्रविधिको युगमा मोबाइल बैङ्किङ, डिजिटल वालेटहरू र बैङ्क ट्रान्सफरमार्फत घरमै बसेर सरकारी राहत कोषमा सजिलै रकम जम्मा गर्न सकिन्छ। 
हामी सबैले आफ्नो क्षमता अनुसार कम्तीमा एक छाकको खर्च बचाएर भए पनि राहत कोषमा योगदान गरौँ। आफ्नो जन्मभूमिभन्दा धेरै टाढा ताता मरुभूमिदेखि अमेरिका, युरोप, कोरियालगायत मुलुकमा पसिना बगाइरहनु भएका दाजुभाइले पनि सधैँ देशको दुखमा अग्रपङ्क्तिमा उभिएर सहयोग गर्दै आउनु भएको छ। यस पटक पनि उहाँहरूबाट मुलुकले ठुलो सहयोग र साथ पाउने अपेक्षा गरेको छ  ।