धरान : धरान उपमहानगरपालिका वडा ६ का अध्यक्ष भूपेन्द्र भट्टराईले कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघामाथि मदन भण्डारी राजमार्ग निर्माणमा आवश्यक नदीजन्य सामग्री प्रयोग गर्न नदिएको र विद्यालयमा शिक्षक नियुक्तिको विषयमा समेत हस्तक्षेप गरेको आरोप लगाएका छन्। ।
बेघाले भने नदीजन्य पदार्थको विषयमा आफ्नो अडान विकास विरोधी नभई नियम र सार्वजनिक हितसँग जोडिएको बताउँदै वडाध्यक्षको आरोप राजनीतिक स्वार्थ प्रेरित भएको बताएका छन् ।
मङ्गलवार वडा कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष भट्टराईले मदन भण्डारी राजमार्गको माथिल्लो पानमारा–सुतारचोक सडक खण्डको करिब ७५० मिटर सडक निर्माणका लागि आवश्यक गिट्टी,बालुवा, बेस तथा सब–बेसका लागि स्थानीय नदीजन्य स्रोत प्रयोग गर्न उपमहानगरपालिकाले सहजीकरण नगरेको आरोप लगाए ।
उनका अनुसार मदन भण्डारी राजमार्गको प्याकेज २ मा माथिल्लो पानमारा सुतार चोक देखिको सडक निर्माणका लागि स्थानीय स्रोतबाट निर्माण सामग्री व्यवस्थापन गर्न पटक–पटक आग्रह गरिए पनि कावा प्रमुख बेघाले अनुमति तथा सहजीकरण नगरेको बताए ।
भट्टराईले नदीजन्य पदार्थको व्यवस्थापन हुन नसक्दा खोलाको सतह भरिँदै गएको र कतिपय स्थानमा खानेपानीको मुहान तथा बस्ती जोखिममा परेको बताए ।
उनले भने‘ खोला च्यानलिङले मात्र नियन्त्रण हुँदैन,खोलाको सामग्री व्यवस्थापन गर्न सकिएन भने खोला भरिएर बस्तीमा पस्ने जोखिम हुन्छ ।’
उनले आफूले जनताको सुरक्षासम्बन्धी विषय पटक–पटक कार्यपालिकामा उठाएको दाबी गर्दै नगर नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए ।
कावा प्रमुखसँग समस्या राख्न जाँदा वडाको बजेट र अधिकार सम्बन्धी विषय उठाएर धम्कीपूर्ण शैलीमा प्रस्तुत भएको समेत उनको आरोप छ ।
स्थानीय स्रोतसाधनको उपयोग गर्न नदिने नेतृत्वले धरानको समग्र विकास अघि बढाउन नसक्ने भट्टराईको भनाई छ । 
शिक्षक नियुक्तिमा पनि हस्तक्षेपको आरोप :
वडाध्यक्ष भट्टराईले धरान–५ स्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिको विषयमा समेत कावा प्रमुख बेघाले चासो र हस्तक्षेप गरेको आरोप लगाए ।
उनका अनुसार विद्यालयमा सामाजिक विषयको शिक्षक पद लामो समयदेखि रिक्त भए पनि पदपूर्ति हुन सकेको छैन। उनले कावा प्रमुखका नजिकका व्यक्ति सन्तोष सुन्दासलाई शिक्षक नियुक्तिका लागि पटक–पटक फोन आएको दाबी गरे।
भट्टराईले शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा नगर नेतृत्वकै कारण विद्यालयको शैक्षिक वातावरण प्रभावित भएको आरोप लगाए । 
तत्कालीन नगर प्रमुख हर्क साम्पाङले दुई जना शिक्षक उपलब्ध गराउने आश्वासन दिए पनि नियुक्त भएका शिक्षकको तलब लामो समयदेखि रोकिएको उनको भनाइ थियो।
उनले विद्यालयमा लेखापालको पदसमेत रिक्त रहेको र त्यसका कारण आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको बताए ।
समस्या लामो समयदेखि सरस्वती माविका प्रधानाध्यापक हेमनाथ दाहालले विद्यालयमा सामाजिक विषयको शिक्षक पद लामो समयदेखि रिक्त रहेको बताए ।
उनका अनुसार शिक्षक तथा कर्मचारी व्यवस्थापनका लागि नगरपालिकामा पटक–पटक डेलिगेसन तथा ताकेता गरे पनि ठोस समाधान हुन सकेको छैन ।
एसइई परीक्षाको समयमा समेत विषयगत शिक्षकको अभावले विद्यार्थीको पढाइ प्रभावित हुने अवस्था आएको उनको भनाई छ ।
प्रअ दाहालले तत्कालीन नगर प्रमुख साम्पाङबाट दुई जना शिक्षक उपलब्ध गराउने आश्वासन पाएपछि शिक्षकहरू कार्यरत भए पनि उनीहरूको पारिश्रमिक समयमै उपलब्ध हुन नसकेको बताए ।
कार्यरत शिक्षकले ४ महिना देखि तलब पाएका छैनन् । उनले भने ‘अहिले रिटार्यड शिक्षकले विद्यार्थीहरूलाई सुविधाको लागि सामाजिक विषय पढाई दिँदै हुनुहुन्छ ।’  
विद्यालयका लेखापाल चित्रबहादुर थापा २०८२ वैशाख ३१ गते सेवा निवृत्त भएपछि जेठ १ गतेदेखि पद रिक्त रहेको र विज्ञापनसमेत प्रकाशित भए पनि नियुक्ति प्रक्रिया अघि बढ्न नसकेको उनले बताए। प्रअ दाहालका अनुसार लेखापाल नहुँदा विद्यालयको आर्थिक कारोबार,ई–बिल तथा हिसाब–किताब व्यवस्थापनमा समस्या भएको छ ।
विवाद नगरपालिकाले सिर्जना गरेको होइन: कावा प्रमुख 
वडाध्यक्ष र प्रधानाध्यापकले लगाएको आरोपबारे सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा कावा प्रमुख बेघाले विद्यालय व्यवस्थापन समिति सम्बन्धी विवाद र शिक्षक नियुक्तिको विषयमा नगरपालिकामाथि दोष थोपर्न नमिल्ने बताए ।
उनले विद्यालय व्यवस्थापन समिति गठन, विघटन तथा विद्यालयभित्र उत्पन्न विवाद सम्बन्धित पक्षको आन्तरिक विषय भएकोले त्यसको दोष नगरपालिकामाथि लगाउनु उचित नहुने बताए । 
कावा प्रमुख बेघाले भने ‘विद्यालयको हितमा काम गर्ने नाममा उत्पन्न विवाद र झगडाबाट निस्किएको दोष मलाई किन बनाउने ?’ भन्दै आफू माथि लगाइएको आरोपको प्रतिवाद गरे ।
बेघाले आफूले नियम र प्रक्रिया अनुसार काम गर्नुपर्ने बताउँदै शिक्षक नियुक्ति तथा सरुवा लगायत विषयमा पनि कानुनी प्रक्रिया पालना गर्नुपर्ने स्पष्ट गरे । उनका अनुसार  सार्वजनिक सूचना आह्वान गरेर नियमअनुसार प्रक्रिया अघि बढाउनु उपयुक्त हुन्छ । बेघाले भने ‘व्यक्तिगत तथा राजनीतिक स्वार्थका आधारमा नियुक्ति प्रक्रिया प्रभावित पार्न खोज्नु गलत कार्य हो ।’
विद्यालय व्यवस्थापन समिति र प्रअको फटाइँ 
बेघाले नदीजन्य पदार्थको विषयलाई लिएर आफू विरुद्ध लगाइएको आरोपलाई समेत अस्वीकार गरे। नदीजन्य पदार्थ स्थानीय विकास निर्माणका नाममा अनियन्त्रित रूपमा उत्खनन तथा बिक्री गर्न दिन नसकिने उनको भनाइ थियो।
उनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले आफू विरुद्ध लगाएको आरोपलाई फटाइँ”को संज्ञा दिँदै त्यसको पछाडि व्यक्तिगत तथा राजनीतिक स्वार्थ भएको प्रत्यारोप लगाए । बेघाले भने ‘उहाँको अतिरिक्त केही हित छ कि? सार्वजनिक सूचना मार्फत निकालौँ न त ।’
नगरपालिकाले विकास निर्माणमा आवश्यक समन्वय गर्न नसकेको नभई स्रोतको प्रयोग गर्दा कानुन, वातावरण र सार्वजनिक हितलाई ध्यान दिनुपर्ने कावा प्रमुख बेघाको भनाई थियो । बेघाका अनुसार तत्कालीन मेयर हर्क साम्पाङको कार्यकालमा रोकिएको शिक्षकको तलब भुक्तानीको समस्या अहिले समाधानको प्रक्रियामा छ। शिक्षक व्यवस्थापनका लागि नगरपालिकाले संशोधनमार्फत ६ लाख ८० हजार रुपैयाँ बजेट छुट्याएको उनको दाबी छ। उनका अनुसार अहिले करिब चार महिनाको मात्रै शिक्षकको तलब बाँकी रहेको र त्यसको भुक्तानीसमेत प्रक्रियामा रहेको छ।
दुवै पक्षको फरक दाबी  
वडाध्यक्ष भट्टराईले सडक निर्माण तथा बस्ती संरक्षणका लागि स्थानीय खोलाबाट आवश्यक नदीजन्य सामग्री व्यवस्थापन गर्नुपर्ने बताएका छन्। । उनको दाबीमा खोलाको सामग्री व्यवस्थापन नगर्दा खोला भरिने र बस्ती तथा खानेपानीको मुहान जोखिममा पर्ने अवस्था छ ।
बेघाको भनाइ भने स्थानीय स्रोतसाधन प्रयोग गर्ने नाममा नदीजन्य पदार्थको उत्खनन,बिक्री वा अन्य दुरुपयोग गर्न दिन नहुनेमा केन्द्रित छ । उनले वडा क्षेत्रका विभिन्न स्थानमा खोलाबाट निकालिएको मिस्कट तथा अन्य सामग्री सडकका खाल्डाखुल्डी पुर्न प्रयोग भइरहेको विषयमा समेत प्रश्न उठाए। यस्तो प्रयोग विकास निर्माणका लागि हो कि स्रोतको दुरुपयोग हो भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।
बेघाले आफूले पछिल्लो समय नदीजन्य पदार्थको प्रयोगसम्बन्धी गतिविधिको निरीक्षण तथा अनुगमन गरिरहेको बताए। विकास निर्माणका लागि आवश्यक सामग्री प्रयोग गर्नुपर्ने भए पनि त्यसका लागि सम्बन्धित कानुनी प्रक्रिया र समन्वय आवश्यक रहेको उनको भनाइ थियो।