इटहरी : इटहरी उपमहानगरपालिकाका १२ को श्री शारदा माध्यमिक विद्यालयले भोगचलन गरेको जग्गा हडप्ने खेल सुरु भएको छ । जनप्रतिनिधिकै सक्रियतामा शारदा माविले भोगचलन गरिरहेको जग्गामा नक्कली जग्गा धनी खडा गरेर चलखेल सुरु गरिएको हो । लालपुर्जा विनाको जग्गामा नक्कली धनी खडा गरी मुद्दा मामिला देखि वडाबाट प्रमाणीकरण गराएर जग्गा हडप्ने षड्यन्त्र बाहिर आएको छ ।
इटहरी १२ नम्बर वडाको खनार स्थित रिलायन्स उद्योग अगाडी काठमिल रहेको जग्गा दानमा पाएको भन्दै हकदाबी गर्ने नक्कली समूह सक्रिय भएको छ । स्थानीय सुधा देवी ठाकुर, उनकी छोरी प्रमीला ठाकुर र छोरा सुभाष ठाकुरले दानमा पाएको भन्दै नक्कली कागजात खडा गरेका हुन् ।
इटहरी उपमहानगरपालिकामा पनि विद्यालयले भोग गरिरहेको जग्गा सुधादेवी ठाकुरको नाममा पार्नेगरि बारम्बार छलफल भइरहेका छन् । सोही अनुसार २०८२ चैत ११ गते चलानी नम्बर १३४१ को पत्रको दर्ता नं ३५५ मा नापी कार्यालयलाई जग्गा नाँपजाँच गरिदिनुहुन आग्रह गरिएको छ । नापी कार्यालयले समेत अमिन श्यामबहादुर कार्कीलाई खटाएर नाँपजाँच गर्ने निर्णय गरेको थियो ।
नापी कार्यालयले पठाएको पत्र अनुसार सुधादेवी ठाकुरको खनार वडा नम्बर ४ को कित्ता नम्बर २१ को ०-६-६.५ जग्गा टाइपिङ मिस्टेक भएको उल्लेख गरेको छ । नापी कार्यालयले २०८२ चैत २२ गतेको निर्णय अनुसार उक्त जग्गा सम्बन्धी पेस भएको प्रतिवेदन तामेलीमा राख्ने निर्णय गरेको थियो ।
स्वर्गीय लखन ठाकुरकी श्रीमती सुधादेवी ठाकुरले भोगचलनको अधिकार आफूहरूसँग भएको र सोको सिफारिस पाउँ भन्दै वडामा निवेदन दिएकी थिइन् । वडा कार्यालयले सिफारिस नदिएपछि उच्च अदालत विराटनगरमा अन्तरिम आदेशको माग गर्दै निवेदन दर्ता गराइन् । अदालतले सुधादेवीको निवेदन उपर के कारणले सिफारिस नदिइएको हो भन्ने खुलाउन वडा कार्यालयको नाममा आदेश गर्यो ।
आदेशको पालना गर्ने क्रममा वडा कार्यालयले सर्जीमिन मुचुल्का उठाएर सिफारिस दिन नमिल्ने ठहर गरेको छ । विद्यालयले भोगचलन गरेको जग्गा खोलाको बगर भएको र सार्वजनिक जग्गाको सिफारिस दिन नमिल्ने बताएको हो । ठाकुर परिवारले दाबी गरेको ६ बिघा ६ कट्ठा ५ धुर जग्गामा निर्विवाद हकभोग नदेखिएको मुचुल्कामा उल्लेख छ ।
जग्गामा जनप्रतिनिधिको नजर
हालको बजार मूल्य अनुसार ६ करोड बढीको जग्गा हडप्न जनप्रतिनिधि नै सक्रिय रहेका छन् । सुधादेवीका छोरा सुभाष ठाकुरले जनप्रतिनिधिलाई विभिन्न साइनो लगाउँदै जग्गा हडप्ने दाउ गरेका हुन् । कार्यपालिका सदस्यहरू मार्फत सुभाष ठाकुरले १२ नम्बर वडा कार्यालयमा दबाब बढाइरहेका छन् । वडाध्यक्षले नबोलाई अन्य कार्यपालिका सदस्यहरू नै जग्गा नाँपजाँचमा सहभागी भएका छन् । वडाध्यक्ष भुवन पोखरेलका अनुसार जनप्रतिनिधिहरूले नै विद्यालयको नाममा जग्गा नभएको भन्दै लचक बन्न दबाब दिएको बताएका छन् ।
इटहरी उपमहानगरपालिको प्रशासन फाँटका एक कर्मचारीले नापी, मालपोत र जिल्ला प्रशासनमा कुरा मिलाउने जिम्मा लिएको बताइएको छ । यती मात्र हैन सुनसरीका एक उद्योगी भोला रौनियार समेत यसमा सहभागी भएको विद्यालय सम्बद्ध श्रोतले जानकारी दिएको छ ।
उनले व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई खालि चेक लिन प्रस्ताव नै गरेका थिए । जग्गा वा पैसा जे भएपनि दिनेगरि जनप्रतिनिधि देखि व्यापारीको गिरोह नै परिचालन भएको छ । वडा नम्बर १२ का वडाध्यक्ष भुवन पोखरेल नै शारदा माविको अध्यक्ष छन् ।
उता जग्गा सोही व्यक्तिको नाममा भएको सिफारिस दिलाउन इटहरी उपमहानगरपालिकामा बारम्बार छलफल चलिरहेको छ । उपमहानगरपालिका मार्फत भोगचलनको अधिकार पाउने गरी ठाकुर परिवारले दबाब बढाएको छ ।
विगत देखि नै विद्यालयको हकभोग अहिलेजस्तै विवाद २०५३ साल असारमा देखिएको थियो । त्यस बेला विद्यालयले छलफल गरी एभरेस्ट सभमेन्ट फ्याक्ट्रीलाई पत्र पठायो । विद्यालयकै पक्षमा सहमति भएपछि सो जग्गामा विजय कुमार मण्डलले बाली लगाउने गरी टेन्डर पाए । ७६ मन ५ किलोको ठेक्का सोही सालको माघमा बुझाउनेगरि उनले कागज गरेको तथ्य भेटिएको छ ।
२०५७ सालमा पनि शारदा माविले टेन्डर आह्वान गर्यो । कित्ता नम्बर ४ ख ०२१ को ६ बिघा ६ कट्ठा ५ मध्ये ५ कट्ठा १५ धुर सहित ४ वटा कित्ता जग्गालाई ७६ मन ५ किलोमा टेन्डर आह्वान गरेको देखिन्छ ।
२०६५ सालमा सोही जग्गामा ६४ मन धान उपलब्ध गराउने सर्त सहित विद्यालयले टेन्डर आह्वान भएको देखिएको छ । शारदा माविले २०७५ जेठमा सलमान मिया रौनलाई जग्गा भाडामा लगाएको थियो । वार्षिक २ लाख १० हजार रुपैयाँ उपलब्ध गराउनेगरि जग्गा भाडामा लगाउने सहमति भएको हो ।
शान्ति सुरक्षाको माग
ठेक्का पाएर नियमित रकम भुक्तानी गरिरहेका सलमानले २०८३ असारमा विद्यालय व्यवस्थापन समितिलाई पत्र पठाउँदै शान्ति सुरक्षाको माग गर्दै पत्र पठाए । स्थानीय सुधा देवी ठाकुर, उनकी छोरी प्रमीला ठाकुर र छोरा सुभाष ठाकुरले गुन्डा लगाएर धाक धम्की दिएको निवेदनमा उल्लेख गरेका छन् । आफ्नो जग्गा भएको दाबी गर्दै काठ मिल नचलाउन उनीहरूले बारम्बार धम्की दिएको सलमानले बताएका छन् ।
विद्यालयले सोही पत्रको आधारमा प्रहरी चौकी खनारलाई शान्ति सुरक्षाको माग गर्दै पत्र पठायो । सुधादेवी ठाकुरले बारम्बार धम्की दिएको र जग्गा हडप्न खोजेको भन्दै विद्यालयका प्रअ पीताम्बर सिंह राईले कारबाहीको माग गरेका छन् ।









































































