इटहरी : सुनसरीको रामधुनी नगरपालिकामा तालाबन्दी भएको छ । मेयर शङ्करलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत तेजनारायण यादवको कार्यकक्षमा तालाबन्दी भएको हो ।

कम्प्युटर अपरेटरको लिखित परीक्षा विवादित बनेपछि स्थानीयले तालाबन्दी गरेका हुन् । सोमबार उपमेयर तारा थापासँगको छलफलमा परीक्षा रद्द गर्ने र नयाँ प्रक्रिया सुरु गर्ने सहमति कार्यान्वयन नभएपछि स्थानीय आक्रोशित बनेका छन् । परीक्षा रद्द गरेर नयाँ प्रक्रियामा जान कार्यपालिका बैठक बस्नुपर्ने भएकाले असम्भव भएपछि तालाबन्दी भएको हो ।

मेयर चौधरी सम्पर्कमा नआएको र प्रमुख प्रशासकीय अधिकृत बाहिर भएकाले बैठक बस्न सकेको छैन । नगरपालिकामा मालपोतको सेवा प्रवाह गर्न ६ जना कम्प्युटर अपरेटरको लागि परीक्षा सञ्चालन भइरहेको छ ।

सो सम्बन्धमा परीक्षा पारदर्शी नभएको गुनासो आएपछि स्थानीयले विरोध जनाएका हुन् । नगरपालिकाले मौखिक परीक्षाको तालिका स्थगित गरेको भए पनि लिखित परीक्षाको नतिजा रद्द गर्न सकेको छैन ।