धरान : नेपाली काँग्रेस निकट जातीय सङ्गठन नेपाल लोकतन्त्रवादी किरात राई सङ्घको प्रथम केन्द्रीय महाधिवेशन पर्सी सोमवार धरानमा हुने भएको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष आनन्द सन्तोषी राईले शनिवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन ।
नेपाली काँग्रेसको नेतृत्वमा भएको २००७ सालको सशस्त्र क्रान्तिकाल देखी नै पार्टीमा राई समुदायले केन्द्रीय तहमा भूमिका खेल्दै आएको उनले बताए ।
नेपालमा लोकतन्त्रीक पद्धतिको रक्षा,पहिचान पक्षधर र शासन प्रणालीमा समावेशिताको प्रत्याभूति दिने एक मात्र पार्टी काँग्रेस भएको अध्यक्ष राईको बताए ।
नेपाली काँग्रेसमा सबै जाति समुदायसँग सम्बद्ध सङ्गठनहरू नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको सदस्य सङ्गठन हुने गरेको छ ।अध्यक्ष राईका अनुसार महाधिवेशनको उद्घाटन महासङ्घका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्ती मगरले गर्नेछन् ।
महाधिवेशनमा कोशी प्रदेशका १४ जिल्लाबाट १५० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ ।
धरानका पूर्व मेयर, काँग्रेस महाधिवेशन प्रतिनिधि तिलक राईले मुलुकमा लोकतन्त्र प्राप्तिका लागि र रक्षाका लागि पटक पटक नेपाली काँग्रेसले गरेको सङ्घर्षमा सबै जाति समुदायको योगदान रहेको बताउँदै पार्टीमा गरेको योगदानका बारे नयाँ पुस्तामा पुस्तान्तरण गर्न शुभेच्छुक, भातृ सङ्गठनको रूपमा क्रियाशील रहन आवश्यक रहेकोमा जोड दिए ।
पत्रकार सम्मेलनमा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको ठुलो विनाशप्रति गहिरो दुःख एवं श्रद्धाञ्जली प्रकट गर्दै महाधिवेशनले यो दुःखद घडीमा संघव्दारा उद्धार, राहत र पूनउत्थानका लागि सक्दो सहयोगको निर्णय गर्ने बताइएको छ ।
महाधिवेशनमा जिल्लाको निर्वाचन क्षेत्रबाट ३ जनाको सङ्ख्याले तथा एउटै मात्र क्षेत्र भएको ठाउँबाट ४ जना प्रतिनिधि हुनेछन् । काठमाडौँ उपत्यकाबाट पनि प्रतिनिधि सहभागी हुनेछन् ।
महाधिवेशनले सङ्घको विधान संशोधन, साङ्गठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष राईले बताए ।
किरात राई सङ्घ २०७२ सालमा गठन भएता पनि अहिले सम्म महाधिवेशन हुन सकेको थिएन ।








































































