धरान :धरानमा यसै वर्ष निधन भएका नेवार समुदायका आफन्तजनको र  भदौ १० गतेको बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शनिवार धरानमा सापारु गाईजात्रा मनाइएको  छ।
सिद्धि नेवा: परिषद्बबाट सुरु भएको सामूहिक गाईजात्रा छाताचोक, टेलिकम, पुरानो बजार हुँदै भानुचोकबाट परिषद् भवनमा पुगेर समापन गरिएको थियो।
गाईजात्रामा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा परिवारका सदस्यले गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा रहेको परिषद्का महासचिव  मोहन श्रेष्ठले बताए।
 समारोहमा धरानका कावा प्रमुख आईन्द्रविक्रम बेघा, कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थ लगायतको उपस्थिति थियो । 
गाईजात्रा पर्वको सुरुआत राजा प्रताप मल्लको पालाबाट भएको मानिन्छ। पुत्र शोकमा रहेकी रानीलाई अन्य परिवारले पनि यस्तै शोक व्यहोर्नुपरेको देखाउन राजाले मृतकको नाममा गाईजात्रा निकालेर नगर परिक्रमा गराउन आदेश दिएको किंवदन्ती छ।  
रानी शोकबाट मुक्त हुन नसकेपछि राजाले व्यङ्ग्यात्मक तथा हास्य कार्यक्रमसमेत गर्न आदेश दिएसँगै गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने परम्परा सुरु भएको मानिन्छ।
नेवा देय दबु धरानका अध्यक्ष मनोहर शाक्यले गाईजात्रा शुभकामना आदानप्रदान गर्ने पर्व नभएको बताए। उनले यस वर्ष रसुवा क्षेत्रमा आएको बाढी पहिरोमा ज्यान गुमाएकाको आत्माको शान्तिको कामना गर्दै तथा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै पर्व मनाइएको बताए। गाईजात्रामा नेवार समुदायका ३६ घरबाट गाईजात्रा निस्किएको दवु अध्यक्ष शाक्यले बताए।
फोटो फिचर :
lakhe
gaijatra-2 2
gaijatra-3
gaijatra-1 1