धरान : धरान उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघाको अध्यक्षतामा शुक्रवार सुरक्षा निकाय सहित बसेको विपद् व्यवस्थापन समितिको बैठकले विपद्का नाममा व्यक्तिगत क्युआरमा रकम सङ्कलन गर्ने कार्यलाई निरुत्साहित गर्ने निर्णय गरेको छ । 
बैठक पछि कावा नगर प्रमुख बेघाले व्यक्तिगत क्युआर मा रकम जम्मा गरेर पछि सरकारलाई बुझाउने नाममा अभियान सञ्चालन गर्दा रकमको हिसाब किताबमा समस्या आउन सक्ने बताए । त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सुरक्षा निकायहरूले जोड दिएको उनको भनाई छ । 
कावा प्रमुखले भने ‘मेरो क्युआरमा जम्मा गर अनि त्यसबाट सरकारलाई पठाउँछु भन्ने ट्रेन्डलाई ब्रेक गरिनेछ, भोलि हिसाब किताब गाजेमाजे नहोस् भन्ने हो ।’ उनका अनुसार विपद् प्रभावितलाई सहयोग गर्ने अभियान व्यवस्थित र पारदर्शी बनाउन एक द्वार प्रणालीलाई प्राथमिकता दिइनेछ ।
बैठकले विपद्का नाममा व्यक्तिगत क्युआर मार्फत रकम सङ्कलन गर्ने प्रवृत्तिलाई समेत निरुत्साहित गर्ने निर्णय गर्दै संघसंस्थाहरूलाई राहत सङ्कलन तथा सहयोगका लागि एकद्वार प्रणालीमा ल्याई प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आह्वान गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।
बैठकले विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन उपमहानगरपालिकाको तर्फबाट १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको बेघाले जानकारी दिए ।