धरान : भोटेकोसीमा आएको भयानक बाढी प्रभावित क्षेत्रमा सुनसरी जिल्लाबाट विभिन्न कामले गएकाहरू मध्ये १५ जना शुक्रवार सम्म सम्पर्क विहीन रहको सुनसरी जिल्ला प्रहरीले जनाएको छ ।
रामधुनी नगरपालिकाका ४ जना भने परिवारको सम्पर्कमा आएको जिल्ला प्रहरी सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए । सम्पर्कमा आएकाहरूमा रामधुनी ५ का नवराज ढकाल, सोही पालिकाका देवानगञ्ज ७ का देवनन्दन यादव, रामधुनी ८ का जीवन सिंह र रामधुनी ५ का सञ्जित नारायण रहेको बताइएको छ ।
सम्पर्क विहीन रहेकाहरूमा दुहबी ४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी ३ का धिरज साह, भोक्राहा नरसिंह ३ का श्यामनारायण साह, कोसी गाउँपालिका ९ की मीना बजगाईँ, वराहक्षेत्र ११ मधुवनका छवि केशर काफ्ले, सोही स्थानका मणि करण राई, इटहरी १९ का प्रभाकर दङ्गाल सम्पर्कमा आएका छैनन् ।
यस्तै नेपाली सेनाका लेस नायक इनरुवा–५ का पुष्पराज भट्टराई, रामधुनी–३ का दिनेशकुमार चौधरी, वराहक्षेत्र–७ का भुवनबहादुर श्रेष्ठ, रविनाकुमारी धामी, इटहरी–२० का अमरबहादुर खड्का, मनमाया खड्का र वराहक्षेत्र–४ का मोहन माझी अझैसम्म सम्पर्क कायम नभएको प्रहरीले जनाएको छ ।








































































