धरान : भदौ १० गते भोटेकोशीमा आएको भयानक बाढी त्रिशूली–३ क्षेत्रमा प्रवेश गरेपछि धरानका भूगर्भविद् मुकेश नेपाल सम्पर्क विहीन भएका छन् । उनको खोजी र अवस्थाबारे राज्य तथा सम्बन्धित कम्पनीबाट स्पष्ट जानकारी नआएको धरानमा मुकेशका परिवारले गुनासो गरेको छ ।
धरान वडा ६ पानबारीका नेपाल त्रिशूली ३ आयोजना अन्तर्गत हेवा जलविद्युत परियोजनामा भूगर्भविद्का रूपमा कार्यरत थिए । उनका बुबा रमेश नेपालका अनुसार मुकेशले मंगलबार साँझ परिवारसँग फोनमा कुराकानी गरेका थिए । त्यसपछि भने उनको मोबाइलमा सम्पर्क हुन सकेको छैन ।
बुवा रमेशले भने ‘नेपाल सरकारबाट अहिलेसम्म केही प्रतिक्रिया आएको छैन, कम्पनीका सीईओसँग समन्वय गर्दा पनि कम्पनीसँग पर्याप्त समन्वय नभएको जानकारी आएको छ ।’
छोराको अवस्थाबारे जानकारी नआएपछि मुकेशकी आमा बेहोस अवस्थामा पुगेको परिवारले जनाएको छ। घटनास्थलको वास्तविक अवस्था र मुकेशको अवस्थाबारे स्पष्ट सूचना नआउँदा परिवार थप तनावमा रहेको छ।
परिवारका अनुसार मुकेश परियोजनाको तल्लो भागमा रहेका दुई वटा सुरुङको निगरानी गर्ने जिम्मेवारीमा थिए। विपद्का बेला आयोजनास्थल तथा नदीमा पानीको सतह तीव्र रूपमा बढेको र बाढीको मात्रा विगतका घटनाभन्दा निकै ठुलो रहेको घटनासँग सम्बन्धित व्यक्तिहरूले बताएका छन् ।
विपद्पछि घटनास्थलमा पहुँच समेत सहज नभएको परिवारको भनाइ छ। हेलिकप्टरबाट घटनास्थलमा पुग्न कठिन भएको तथा सर्वसाधारणलाई प्रवेशमा समेत सीमितता रहेकाले परिवारले प्रत्यक्ष रूपमा अवस्था बुझ्न सकेको छैन।
मुकेशसँगै आयोजनामा कार्यरत उनका केही सहकर्मी भने पोखरा पुगेका छन् । सहकर्मीबाट परिवारले पाएको जानकारी अनुसार घटनाको समयमा आयोजनास्थलमा केबल वा तारमा समस्या आएको र त्यसपछि बाढीको पानी तीव्र रूपमा बढेको थियो। घटनाबारे फरक–फरक सूचना सार्वजनिक भएकाले मुकेशको वास्तविक अवस्थाबारे परिवार थप अन्योलमा परेको छ।
यसअघि घटनास्थलमा रहेका सबैलाई सुरक्षित उद्धार गरिएको भन्ने सूचना सार्वजनिक भए पनि मुकेशको अवस्था भने अझै अज्ञात रहेको परिवारले जनाएको छ।
मुकेशका मामा सशस्त्र प्रहरीका डिएसपी रहेकाले खोजी तथा घटनास्थल सम्बन्धी जानकारी सङ्कलनमा केही सहज भएको परिवारको भनाई छ। मुकेशको खोजी तथा उद्धारका लागि स्वयंसेवी टोलीसमेत घटनास्थलतर्फ जाने तयारीमा रहेको मुकेशको मामाबाट जानकारी आएको छ।
परिवारले मुकेशको खोजीलाई तत्काल प्रभावकारी बनाउन नेपाल सरकार, सम्बन्धित आयोजना, कम्पनी व्यवस्थापन, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग आग्रह गरेको छ।