धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ अस्पताल निर्देशक पदका लागि वर्तमान उपनिर्देशक डा.इन्द्रकुमार लिम्बु सहित ५ जना बिच प्रतिस्पर्धा हुने भएको छ ।
अस्पताल निर्देशक पदका लागि दाबेदारहरूमा हाल उपनिर्देशक रहेका डा.लिम्बु नयाँ सरकारले प्रतिष्ठानका सबै पदाधिकारी हटाएपछि प्रतिष्ठानको निमित्त प्रमुख बनेका थिए । उनीसँगै अस्पताल निर्देशक पदका लागि प्रा डा. अशोककुमार यादव, डा.मधुर बस्नेत, डा. शेखर अहमद खान र डा. विम्मी सिंह संक्षिप्त सूचीमा छन् ।
प्रतिष्ठानमा रिक्त रहेको पदाधिकारी रजिस्ट्रार, शिक्षाध्यक्ष र अस्पताल निर्देशक पदमा नयाँ नियुक्तिका लागि १४ जनाको नाम संक्षिप्त सूचिमा छनौट भएको हो । यसअघि तिनै पदका लागि कुल ३६ जनाले निवेदन दिएका थिए ।
प्रतिष्ठानमा रिक्त शिक्षाध्यक्ष पदका लागि प्रा.डा. काजीराम अधिकारी, प्राडा. कृष्ण पोखरेल, प्राडा. रोबिन मास्के र प्राडा. शिवेन्द्र झा समेत ४ जना बिच प्रतिस्पर्धा हुनेछ । रजिस्ट्रार पदका लागि डा. अरुणकुमार सिंह, प्राडा.अशोककुमार झा, धरणीधर बराल, प्रा.डा. शमशेर श्रेष्ठ र सागर कुमार ताम्रकार ५ जना बिच प्रतिस्पर्धा छ । 
पहिलो पटक शिक्षाध्यक्षमा ४ जना, रजिस्ट्रारमा १८ जना र अस्पताल निर्देशकमा १४ गरी जम्मा ३६ जना थिए । उक्त आवेदकहरू मध्ये बाट छनौट गरी संक्षिप्त सूची सार्वजनिक गरिएको हो । यसै सूचिबाट अन्तरवार्ताको आधारमा पदाधिकारीहरू नियुक्तका लागि सिफारिस हुने प्रतिष्ठान पदाधिकारी सिफारिस समितिले जनाएको छ ।
संक्षिप्त सूचिमा परेका प्रत्याशीहरूको अन्तर्वार्ता भदौ १० गते भोली बुधवार हुँदैछ । समितिले प्रतिष्ठानले रिक्त पदाधिकारी पदमा नियुक्तिका लागि आवेदन दिएका उम्मेदवार मध्ये तोकिएको कार्यविधि अनुसार सार्वजनिक संक्षिप्त सूचीका प्रत्याशीहरुलई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि उपस्थित हुन आह्वान गरेको छ । 
प्रस्तुतीकरण र अन्तर्वार्तापछि समितिले योग्य उम्मेदवारलाई नियुक्तिको लागि सम्बन्धित निकायमा सिफारिस गर्नेछ । समितिले प्रत्याशीहरूले प्राप्त गरेको अङ्क तथा स्थानको नतिजा सार्वजनिक गर्ने/नगर्ने केही जनाएको छैन ।