धरान : भोटेकोशी नदीमा आएको भयानक बाढीले बगाई छेउ लगाएको मृतकको शवको कानमा लगाएको सुनको मुन्द्रा लुछेर लुट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मुलुक शोकाकुल भएको बेला बाढीले बगाएको शवको उद्धार गर्नुको सट्टा मृतकको गहना लुट्ने घृणित कार्य गरेको भिडिओ बुधवार भाइरल भएको थियो । सोही भिडिओको अनुसन्धान गरी चोरीमा संलग्न २ जनालाई आज बिहीबार नियन्त्रणमा लिएको जिल्ला प्रहरीले प्रेस विज्ञप्तीमा जनाएको छ ।
बाढीले बगाएको शवको गहना लुछ्ने एक जना सुनसरीका ३८ वर्षीय उमेश चौधरी छन् । उनी सुनसरीको चाँदबेला गाउँपालिका-५ घर भई हाल चितवन जिल्ला भरतपुर महानगरपालिका २ पोखरा बसपार्क सुपारी टोलमा बस्दै आएका छन् ।
अर्का युवक नवलपरासीका २५ वर्षीय मदन गुरुङ हुन । उनी नवलपरासीको त्रिवेणी नगरपालिका–१ घर भई भरतपुर १ लीला चौकमा मामाको घरमा बस्दै आएका छन् । दुवैलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।