धरान : धरानमा बन्न लागेको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टको कोशी प्रदेश कार्यालय तथा अनुसन्धान केन्द्र भवन निर्माणको आर्थिक वर्ष २०८२/०८३ मा आव्हान गरिएको ठेक्का उपमहानगरपालिका कार्यालयको ठेक्का व्यवस्थापन कर्मचारीको लापरबाहीको कारण रद्द भएको छ ।
धरानमा भएको सरकारी कार्यालय धमाधम अन्यत्र लैजाने कार्यको चर्को विरोध हुँदै आएको धरानमा नयाँ निर्माण गर्न खोजिएको प्रादेशिक कार्यालय समेत उपमहानगरपालिकाको अक्षमता, कर्मचारीको लापरबाहीको कारण बाहिर जाने सम्भावना बढेको छ ।
यसअघि सङ्घीय सरकारको डेढ करोड अनुदानमा बन्ने भगवती आधारभूत विद्यालयको भवनको ठेक्का पनि रद्द भएको छ । उक्त ठेक्का सहित नाष्ट भवन सहित ५ वटा योजना निर्माणको ठेक्का रद्द भएको हो ।
सबै प्रक्रिया पुरा भएपछि ठेक्का रद्द भएका योजनामा सङ्घीय सरकारले विनियोजन गरेको बजेट र योजना खारेज भएको छ । उक्त बजेट पुनः पाउने सम्भावनाका अब कुनै टुङ्गो नहुने भएकोले सङ्घीय अनुदानमा हुने विकासको कार्यमा धरान पछि परेको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति प्राडा.दिलीप सुब्बा धरानकै भएकाले उनको विशेष रुचीमा नाष्टको प्रादेशिक कार्यालय धरानमा बनाउने योजना स्वीकृत भएको हो । दुई वर्ष अघि उनले नाष्टको प्रदेश कार्यालय धरान–१६ मा स्थापना गरेका थिए ।
तत्कालीन नगर प्रमुख हर्क साम्पाङले नाष्टको स्थायी भवन निर्माणको लागि धरान–१७ मा जग्गा उपलब्ध गराएको थियो । सोही जग्गामा भवन निर्माणको लागि धरान उपमहानगरपालिका मार्फत ठेक्का प्रक्रिया पुरा भई अन्तिम अवस्थामा ठेक्का रद्द भएको हो ।
नाष्ट भवन निर्माणका लागि सङ्घीय सरकारबाट समपूरक बजेटमा ३५ लाख रुपैयाँ निकासा भएको थियो । नियमानुसार उक्त बजेटमा उपमहानगरपालिकाले २० प्रतिशत लगानी गर्नुपछि । भवन निर्माणको बोलपत्र आह्वानपछि मूल्याङ्कन समितिबाट ३४ लाख ९६ हजार १ सय १२ रुपैयाँमा एकता निर्माण सेवा ठेक्का दिने निर्णय भए पनि ठेक्का रद्द भएको छ ।
धरान उपमहानगरपालिकाको साउन ४ गते बसेको बैठकले कार्यान्वयन हुन नसकेका ५ वटा ठेक्का रद्द गर्ने निर्णय गरेको हो । कार्यवाहक प्रमुखको गम्भीरताको अभाव, उपमहानगरपालिका ठेक्का व्यवस्थापनमा कर्मचारीको असक्षमतका कारण ठेक्का रद्द सँगै धरानका ५ वटा करोडौँको योजना खारेजी भएको छ ।
रद्द भएका आर्थिक वर्ष २०८२/८३ को ठेक्कामा नाष्ट भवन निर्माण, तरकारी बजार सेड निर्माण, भगवती आधारभूत विद्यालय भवन निर्माण, धरान खानेपानी बुस्टर पम्प जडान तथा आधारभूत खानेपानी आपूर्तिका लागि इलेक्ट्रिक मेकानिकल सामग्री (बुस्टर पम्प र जेनरेटर) खरिद रहेको उपमहानगरपालिकाले जनाएको छ ।