इटहरी : भोटेकोसीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले इटहरीको सेवा सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा सल्लाहकार समितिको एक बैठकको भत्ता, सम्पूर्ण कर्मचारीको एक दिनको तलब र बाँकी रकम सहकारीको तर्फबाट थप गरी उक्त रकम कोषमा जम्मा गरिएको सहकारीका अध्यक्ष प्रदीप पोखरेलले जानकारी दिए।
बाढी तथा पहिरोका कारण भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहकारीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै बाढी तथा पहिरोबाट प्रभावित, घाइते तथा विस्थापित नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
विपद्को यस कठिन घडीमा प्रभावित परिवारको उद्धार, उपचार, राहत तथा पुनः स्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गरिएको अध्यक्ष पोखरेलले बताए।