धरान : झापाको केचनकवलका २३ जना कोरोना सङ्क्रमितलाई उपचारको लागि ४ वटा एम्बुलेन्स मार्फत धरान ल्याइँदै छ ।

प्रदेश नं. १ को कोसी अस्पताल स्थित कोभिड १९ अस्पतालमा बेड अभाव भएपछि प्रदेश १ का थप कोरोना सङ्क्रमित बिरामीहरूलाई धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्रको कोभिड १९ अस्पतालमा राखिने बताइएको छ ।

बिहान १५ जना कोरोना पुष्टि भएका र अहिले थप ८ जना सङ्क्रमित पुष्टि भएका सहित २३ जना कोरोना सङ्क्रमित धरान ल्याइँदै गरिएको झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले जानकारी दिएका छन् ।

अहिले पछिल्लो सङ्क्रमित सँग झापाको कचनकवल गाउँपालिकाका मात्रै ३३ जना सङ्क्रमित पुगेको झापाका संचारकर्मी पार्थ मण्डलले जानकारी दिएका छन् । धरानमा आज एकै दिन यति धेरै कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुने भएपछि अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना र्यापिड टिमको बैठक बसेको छ ।

प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा आज पहिलो विरामी  धरान-१३ कि सङ्क्रमित महिलालाई राखिएको छ भने झापाबाट एकै पटक २३ जना कोरोना सङ्क्रमित व्यक्तिहरूलाई राखिँदै छ । यो संगै आज एकै दिन १ सय बेडको अस्पतालमा २४ जना विरामी भर्ना गरिदैछ ।

झापाको कचनकवल गाउँपालिकामा मात्रै ३३ जना सङ्क्रमित भेटिएपछि अहिले सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले जानकारी दिएका छन् । उनका अनुसार अहिले सम्म झापा जिल्लामा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ ।

भारतबाट आएका नेपाली नागरिकलाई गाउँघर प्रवेश गर्न नदिएर गाउँपालिकाले सोझै क्वारेनटाइनमा लगेर राख्न थालेको छ । क्वारेनटाइनमा बसेका मध्ये ९८ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये मङ्गलवार १, बुधवार ९ र बिहीबार बिहान १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बिहीबार दिउँसो फेरि ८ जनामा कोराना देखिएको थियो ।